
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले हिजोबाट तीन महिने जागरण अभियान चलाएको छ । माओवादीले यो अभियानबाट पार्टीले नयाँ रुप लिने दाबी गरेको छ ।
अभियानको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट एकैसाथ उद्घाटन गरेका छन् । माओवादीले वडा तहसम्म पुगेर जनताको कुरा सुन्ने र त्यसैको आधारमा पार्टीलाई रुपान्तरण गर्दै लैजाने जनाएको छ । केही समयअघि काठमाडौंमा सम्पन्न भएको पार्टीको केन्द्रीय समितिको बैठकले गरेको निर्णय अनुसार ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सुरु भएको हो । पछिल्लो समयमा माओवादीप्रति मानिसको धारणा नकारात्मक भएकाले सुस्ताएको माओवादीलाई पुनः पुरानै अवस्थामा फर्काउन सकिन्छ कि भन्ने उनीहरुको सोच रहेको छ ।
२०६४ सालको संविधानसभाको निर्वाचनमा २ सय ४० सिटमध्ये प्रतक्ष्य रुपमा १ सय २० सिट जितेको माओवादीले त्यसपछिका निर्वाचनमा सोचेजस्तो नतिजा ल्याउन सकेको छैन । आफू कजोर भएपछि माओवादीले निर्वाचनमा कहिले कोसँग त कहिले कोसँग चुनावी तालमेल गर्दै आफ्नो अस्तित्व बचाउँदै आएको छ । २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेसँग मिलेको माओवादी २०७९ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस, नेकपा (एकीकृत समाजवादी) लगायतका दलसँग मिल्न पुगेको थियो । यो निर्वाचनमा माओवादीले कमजोर मत ल्याएको थियो ।
माओवादीले विगतका दिनमा चलाएको हत्या, हिंसा र आतंकको सिलसिलालाई मानिसले अझै सम्झिरहेकाले गर्दा पनि माओवादीको पक्षमा सोचेजस्तो मत नआएको निश्चित भए पनि माओवादीले यो कुरालाई स्विकारेको छैन ।
माओवादीले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सकिने गरी संगठन विस्तार गर्ने योजना बनाएको छ । सरकार सञ्चालनको नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष दाहालले सरकारले गरेका राम्रा कामबाट आगामी दिनमा पार्टीको पक्षमा मत बटुल्ने प्रयास गरेका छन् ।
सुरुवाती दिनमा केही राम्रो काम गरेर आफूलाई स्थापित गर्न खोजे पनि पछिल्ला केही घटनाले सरकारप्रति पनि अनेक शंका उत्पन्न भएको छ । अभियानका क्रममा शीर्ष नेताहरू पनि वडावडामा पुग्ने कार्यक्रम तय भएको छ । अभियानको नाममा पार्टीका सामान्य कार्यकर्ता धेरै खट्ने तर प्रमुख नेताहरु भनें शहर केन्द्रित राजनीतिमा मात्र रमाउने भएकाले उनीहरु वडासम्म नपुग्ने खतरा पनि त्यत्तिकै छ । गाउँका मानिसले पनि नेता देख्न पाए र आफ्ना कुरा राख्न पाए भनें पार्टीप्रति गुनासो भए सुनाउन पाउने छन् तर त्यो सम्भावना प्रायः कमजोर बन्दै गएको छ ।
