
काठमाडौं । विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श प्रदान गर्ने उद्येश्यले सञ्चालन गरिएका शैक्षिक परामर्शदाता व्यवसायीहरूले नयाँ संगठन गठन गरेका छन् ।
२०८० साल भदौ १२ गते काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) गठन भएको घोषणा गरेका हुन् । गत असार २३ गते भएको स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) को निर्वाचनमा एक पक्षले उम्मेदवारी दिएर पनि निर्वाचनको प्रक्रियामा भाग लिएको थिएन त्यो समूहको तर्फबाट प्रज्वल बस्नेत अध्यक्षको उम्मेदवार थिए । यो समूहले अरु पनि व्यावसायीसँगको छलफलपछि नयाँ संगठन खोलेको हो ।
बस्नेत यसअघि फेकनको वरिष्ठ उपाध्यक्ष थिए । ‘यसअघि हामी कुनै संस्थामा आबद्ध थियौं त्यो संस्थामा रहँदा हाम्रो माग विधि र प्रक्रियाअनुसार संघ चल्नुपर्छ भन्ने थियो त्यो नभएपछि हामी असन्तुष्ट भएका हौं’ तदर्थ समितिका अध्यक्ष बस्नेतले भने ‘हामीले भनेजस्तो फेकन बन्ने सम्भावना नभएपछि उम्मेदवारी दिएर पनि निर्वाचनको प्रक्रियामा भाग नलिएका हौं त्यसपछि नयाँ संघ खोलेर सबैलाई समेट्ने अभियान चलायौं जुन आज सफल भएको छ ।’
बस्नेतको संयोजकत्वमा एप्क्यानको ११ सदस्यीय तदर्थ समिति घोषणा गरिएको छ । तदर्थ समितिको सदस्यमा हेमन्तराज दुलाल, अर्जुनकुमार बस्नेत, अनिल शर्मा, अमित खड्का, दिपा लामिछाने, दिनेश न्यौपाने, प्रज्वल खत्री, मदन उप्रेती, रेश्मीराज भट्टराई र नरेश सेडाईं रहेका छन् ।
एप्क्यानका तदर्थ समितिका सदस्य अनिल शर्माले संघभित्र एकजुट भएर व्यवसायिक हकहितमा लाग्ने र सबैको विश्वास जित्दै अघि बढ्ने आफूहरुको लक्ष्य रहेको बताए । शर्माले अरु व्यावसायी साथीहरुसँग पनि छलफल भइरहेकाले आगामी दिनमा यो संस्था शैक्षिक परामर्श व्यवसायीको ठूलो संस्था बन्ने दाबी गरे । शैक्षिक परामर्श व्यवसायीका अन्य संस्था पनि रहेका छन् ।
