Prime Minister of Nepal, Pushpa Kamal Dahal, resigns after addressing the nation from his office at Singh Durbar, Kathmandu, Nepal on Wednesday, May 24, 2017. (Photo by Narayan Maharjan/NurPhoto via Getty Images)

काठमाडौं, भदौ १७ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक नेपालको प्रधानमन्त्री भएर आउनेबित्तिकै उनले विधिको शासन र कानुनी राज्यको पक्षमा वकालत गरेका थिए । उनले यसअघि दुई पटक प्रधानमन्त्री भइसकेकाले त्यसबाट आफूले धेरै शिक्षा पाएकाले यो कार्यकालमा भनें केही गरेरै देखाउने उद्घोष गरेका थिए ।

प्रचण्डले यसो भनिरहँदा होला कि भन्ने जनतालाई लागेको थियो । सुरुवाती कार्यकालमा अहिलेको पालामा राम्रो काम गर्न थालेका उनी अहिले भनें नराम्ररी अल्मलिएका छन् । विभिन्न काण्डले देश आक्रान्त भइरहँदा पनि उनले त्यसको समाधान के हुन्छ भन्नेतिर ध्यान दिएका छैनन् । सरकार सञ्चालनको प्रष्ट मापदण्ड नबनाउनु र आफ्ना मन्त्रीलाई जिम्मेवार बनाउन नसक्नु उनको ठूलो कमजोरी रहेको छ । दिनैपिच्छेजस्तो मन्त्रीसँग कार्य सम्पादन सम्झौता गर्न जानेका उनले कुन मन्त्रीले यतिबेलासम्म के काम गरे भन्ने बुझ्न र सोध्नसमेत भ्याएका छैनन् । उनले पनि नारा भनें मिठै लगाएका छन् तर व्यवहार भनें ठिक त्यसको विपरीत भएको छ । केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन पक्राउ भएको विषयलाई लिएर तातेका उनले यस प्रकरणको निश्पक्ष छानबिन गर्ने र दोषीलाई कारबाही गर्नेतिर ध्यान दिएका छैनन् बरु उल्टै राम्रो काम गर्नेलाई प्रहरीका कार्यालय प्रमुखहरुलाई सरुवा गरेर आफ्नो सक्कली रुप देखाएका छन् । आफ्नो भावना मिल्ने कर्मचारीलाई लामो समयसम्म कतैको प्रमुख दिने र स्वार्थ बाझिएपछि अनेक बहानामा सरुवा गर्ने र आफू अनुकूल मानिसलाई भर्ती गर्ने पुरानो रोगले प्रचण्डलाई पनि सताएको छ ।

धेरैवटा पार्टीको संयुक्त सरकार भएकाले पनि प्रचण्डले सबैको कुरा सुन्नुपर्ने बाध्यता रहेको छ । प्रचण्डले आफ्नो सरकार टिकाउन जोसँग जस्तो पनि सम्झौता गर्नुपर्ने बाध्यता रहेको छ । प्रमुख प्रतिपक्षी दलले उठाएका जायज मागलाई सम्बोधन गर्नेतर्फ पनि प्रचण्डको ध्यान गएको छैन । प्रचण्डले यो कार्यकालमा जनताको पक्षमा काम गरे भनें उनीसहित पार्टीको आगामी राजनीतिक भविष्य उज्वल बन्नेमा शंका छैन तर अहिलेका गतिविधिले राम्रो बन्नुभन्दा पनि झन् कमजोर पो होला कि भन्ने आशंका बढ्दै गएको छ ।