काठमाडौं, भदौ १७ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीज आउन अझै केही दिन बाँकी हुँदा नै तिजको कार्यक्रम हुन थालेका छन् ।

शनिवार बुढानीलकण्ठ नगरपालिका वडा नम्वर १० मा रहेको आकाशेधारामा सशक्त महिला समूहले आयोजना गरेको उक्त कार्यक्रममा वडाध्यक्ष नवराज भट्टराई, वडा सदस्य रिता दाहाल र सशक्त महिला समूहका दिदिबहिनीहरुको उपस्थितिमा तिज विशेष कार्यक्रम सम्पन्न भएको हो । तिज विशेष कार्यक्रमको उद्घाटन वडाध्यक्ष भट्टराईले गरेका थिए । शुभकामना मन्तव्यका क्रममा भट्टराइले कोभिड १९ का कारण केही वर्षदेखि राम्रोसँग मनाउन नपाएको तिज विषेश कार्यक्रम यो पटक भव्य र उल्लासमय वातावणरमा मनाउने अवसर प्राप्त भएको बताए ।

वर्ष दिनमा एक पटक भेला भएर महिलाहरुले आफ्ना दुःख सुख र भावना साटासाट गर्ने पर्वका रुपमा तिजलाई लिने गरिन्छ । वडाध्यक्ष भट्टराइले चाडबाडका नाममा देखापरेका बिकृती र बिसंगतिलाई रोक्न दिदिबहिनीहरु सचेत हुनुपर्नेमा जोड दिए । उनले कला संस्कृतिको जगेर्ना गर्ने बहानामा तिजलाई भड्किलो नबनाउन समेत सबैलाई आग्रह गरे ।
उनले महिलाहरुलाई उद्यमशील हुन प्रेरित गर्दै अनुदानमा आएका अवसरबाट कोही पनि बन्चित हुन नपरोस् भन्ने आफ्नो चाहना रहेको बताए । उनले विभिन्न कार्यक्रम र योजनाहरुका बारेमा वडाले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै आएको समेत स्पष्ट पारे । त्यसैगरी कार्यक्रममा महिलाहरुलाई आत्मनिर्भर बनाउन वडाबाट दिइने स्वरोजगार तालिमहरुका बारेमा जानकारी दिँदै वडा सदस्य रिता दाहालले महिलाहरुलाई निडर भएर अगाडि बढ्न प्रेरित गरिन् । दाहालले सबैभन्दा पहिला आफू सशक्त र स्वस्थ बन्नुपर्ने बताइन् ।

कहिलेकाहीँ आत्मनिर्भर र शिक्षित हुँदाहुँदै पनि नसोचेको घटना घट्ने हुँदा महिलाका समस्याहरु महिला समूहमा पुग्यो भने ठूलै दुर्घटनाबाट बच्न सकिने भन्दै दाहालले महिला समूहको महत्व धेरै भएको बताइन् । कार्यक्रममा सशक्त महिला समूहकी अध्यक्ष उमा पुरीले संस्थाको उद्येश्य र आगामी योजनाका बारेमा जानकारी दिइन् । उनले तिज पर्वले समाजमा आपसी एकता र सद्भाव कायम हुने पनि बताइन् ।

कार्यक्रममा पूर्वी पहाडमा प्रचलित संगिनी भाकामा सशक्त महिला समूहका सदस्यहरुले नारीका मनका विरहलाई नृत्यसँगै प्रस्तुत गरेका थिए । एलिसा ढुंगानाले ‘वर्तमानकी छोरी’ शिर्षकको कविता वाचन गर्दै सबैलाई मन्त्रमुग्ध बनाएकी थिइन् ।

समूहकी अध्यक्ष पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य एलिसा ढुंगानाले स्वागत मन्तव्यबाट सबैलाई स्वागत गरेकी थिइन् भनें सृजना बरालले कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।