काठमाडौँ । राष्ट्रिय तथा निजी आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ जिल्ला समितिको सचिव पदमा राजन श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।

भदौ २७ गते बुधबार सोल्टी होटलमा हुने आठौँ अधिवेशनले अध्यक्ष, तीनजना उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, दुईजना सह–सचिव र दुई जना सह–कोषाध्यक्षसहित सदस्यहरु रहेको २१ सदस्यीय कार्यसमिति चयन गर्ने सचिवको उम्मेदवारी दिने तयारी गरेका जिल्ला सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए । श्रेष्ठले काठमाडौँ जिल्ला समितिमा रहेर २ कार्यकाल कार्यसमिति सदस्य भएर काम गरिसकेका छन् भने अहिले उनी सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख हुन् ।

यसअघि श्रेष्ठले नेशनल प्याब्सनको स्वास्थ्य विभाग प्रमुख भएर काम गरिसकेका छन् । संस्थाद्वारा आयोजित विभिन्न महत्वपूर्ण कार्यक्रमहरूको संयोजन गर्दै श्रेष्ठले आफूलाई अब्बल नेतृत्वको रुपमा स्थापित गरेका छन् । हाल मनास्लु वल्र्ड स्कुल तथा कलेजको प्रधानाध्यापकका रूपमा कार्यरत श्रेष्ठले विद्यालय तथा कलेज स्तरको शिक्षामा गुणस्तरीयता प्रदान गर्दै आएका छन् । उनी सहज र शुलभ दरमा विद्यार्थीलाई शिक्षा दिनुपर्छ भन्दै आएका छन् । विद्यालयको सञ्चालनसँगै प्रशासन हाँकेर आफ्नो क्षमता देखाएका उनी अग्रेजीमा पिएचडी गर्दैछन् । उनी शिक्षासँग सम्बन्धित प्याब्सकको अध्यक्षसमेत हुन् । उनी लायन्स क्लबमा समेत आवद्ध छन् ।

उनले शिक्षालाई राम्रोसँग बुझेको मानिस नेतृत्वमा आउनुपर्ने बताएका छन् । उनले एक पटक जिम्मेवारी दिनका लागि सबैलाई आग्रह गरेका छन् । काठमाडौंमा एन प्याव्सनसँग २ सयभन्दा बढी विद्यालय आबद्ध छन् ।