
काठमाडौं, भदौ १९ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ जिल्ला समितिको उपाध्यक्षमा समिर बास्तोलाले उम्मेदवारी दिने भएका छन् ।
आगामी भदौ २७ गते सोल्टी होटेलमा हुने काठमाडौँ जिल्ला समितिको आठौँ अधिवेशनले अध्यक्ष, तीनजना उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, दुईजना सह–सचिव र दुई जना सह–कोषाध्यक्षसहित सदस्यहरु रहेको २१ सदस्यीय कार्यसमिति चयन गर्ने छ ।
अहिलेको कार्यसमितिका सह–सचिव बास्तोलाले काठमाडौँ जिल्ला समितिमा रहेर २ कार्यकाल काम गरिसकेका छन् । उनी अहिले सचिवालय सदस्य तथा प्रकाशन विभाग प्रमुख पनि हुन् । बास्तोलाले यस अगाडि नेशनल प्याब्सनको परीक्षा विभाग सह– संयोजक भएर काम गरिसकेका छन् । उनले शिक्षा प्रदान गर्नेसँगै विभिन्न सामाजिक क्रियाकलापमा पनि आफूलाई सक्रिय सहभागी गराएका छन् ।
प्रशान्ति एकेडेमी कपनका संस्थापक र प्रधानाध्यापकका रूपमा कार्यरत बास्तोला विद्यालय तथा उच्च शिक्षामा गुणस्तरीयता प्रदान गर्दै आएका छन् । उनले शिक्षामा देखिएका समस्या समाधानको लागि आफूसँग खाका भएकाले कार्यसमितिको उपाध्यक्षमा आफूले उम्मेदवारी दिने निर्णय गरेको बताउँछन् । बुढानीलकण्ठ नगरपालिकाको शिक्षा क्षेत्रमा परिचित र सक्रिय बास्तोलाले वुढानीलकण्ठ शिक्षा समिति सदस्यको रुपमा एक कार्यकाल काम गरिसकेका छन् । नगरपालिकाको शिक्षा कार्यविधि निर्माण गर्न र स्थानीय पाठ्यक्रम लेखनमा पनि उनको सक्रिय सहभागिता रहेको छ ।
उनी प्याब्सकको सल्लाहकार तथा निवर्तमान उपाध्यक्ष तथा कार्यक्रम प्रमुख पनि हुन् । उनी स्थानीय स्काउट समितिको स्कुल विभाग प्रमुख पनि हुन् । हाल उनी ईकोनोमी एन्ड पोलिसी विषयमा रसियाको सिनर्जि युनिभर्सिटीबाट पिएचडी फाउन्डेसन गर्दैछन् । उनले एक पटक काम गर्ने अवसर दिन सबै मतदाता र शुभचिन्तकलाई आग्रह गरेका छन् । एन् प्याब्सन अन्तर्गत काठमाडौंमा २ सयभन्दा बढी विद्यालय छन् ।
