काठमाडौ, भदौ २१ । राष्ट्रिय तथा निजी आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौं जिल्ला समितिको अध्यक्षमा होमबहादुर अधिकारी (मनोज) ले दाबी गरेका छन् ।
भदौ २७ गते बुधबार सोल्टी होटलमा हुने आठौं अधिवेशनले अध्यक्ष, तीनजना उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, दुईजना सह–सचिव र दुई जना सह–कोषाध्यक्षसहित सदस्यहरु रहेको २१ सदस्यीय कार्यसमिति चयन गर्ने छ । अधिकारी काठमाडौं जिल्लाको वर्तमान कार्यसमितिको उपाध्यक्ष रहेका छन् ।
अधिकारीले सधैं निजी विद्यालयहरुको हकहितमा आवाज उठाउँदै आएका छन् । विद्यालयलाई अन्तर्राष्ट्रिय तहमा चिनाउनुपर्छ र शैक्षिक क्रियाकलापमा गुणात्मक परिवर्तन ल्याउनुपर्छ भन्ने उनको मुख्य लक्ष्य रहेको छ । विभिन्न अन्तर्राष्ट्रिय स्तरका तालिम सञ्चालन गर्दै संगठनलाई मजबुत बनाउन आफूले संस्थागत हितमा विगत लामो समयदेखि निरन्तर रुपमा कार्य गर्दै आएको बताउने अधिकारीले उम्मेदवारी दिने भएपछि छलफललाई अगाडि बढाएका छन् ।
जेसिज, एम्नेस्टी ईन्टरनेशनल नेपाल, लायन्स क्लब, रोटरी क्लब र दर्जनौं संघसंस्थाको नेतृत्व गरेको अनुभव रहेका उनी बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० कपनको मिलनचोकमा रहेको जोसेफ एजुकेसन नेटवर्कका अन्तर्गतको जोसेफ हाई स्कुल, काठमाडौ महानगरपालिका वडा नम्बर ६ मा रहेको ईन्टरनेशनल जोसेफ पब्लिक स्कुल र जोसेफ कलेजका सञ्चालक हुन् । नेटवर्क अन्तर्गत सञ्चालित तीन वटा शैक्षिक संस्थामा हाल दुई हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । अधिकारीले युरोप, चीन, भारत र थाइल्याण्डमा नेतृत्व विकास र शैक्षिक व्यवस्थापनसम्बन्धी तालिम लिएका छन् । उनले दर्जनौं शिक्षा पुरस्कार र अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गरेका छन् ।
अधिकारीले नेतृत्व पाउँदा काठमाडौं जिल्लाका विद्यालयहरुले एक नयाँ र फरक अनुभुति पाउने अनुमान गरेका छन् । काठमाडौं नेशनल प्याब्सन अन्तर्गत झण्डै २ सय विद्यालय रहेका छन् ।