काठमाडौं, २३ भदौ । सर्लाही सदरमुकाममा आज कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यू आदेश जारी गरेको हो । कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा हिजो बेलुका दुई पक्षबीच झडप भएपछि स्थीतिलाई नियन्त्रणमा लिनका लागिग कर्फ्यू आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले जानकारी दिए ।

उनका अनुसार आज साँझ पाँच बजेदेखि शुरु हुने कर्फ्यू भोलि बिहान ८ बजेसम्म जारी रहनेछ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा हिजो बेलुका मलंगवामा दुई समुदायबीच झडप र ढुंगामुढा भएको थियो ।

सो असहज स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायरसमेत गरे पनि अवस्था नियन्त्रणमा नआएपछि कर्फ्यु लगाउनु परेको यादवले जानकारी दिए ।