
काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका प्रतिनिधिसभाका सांसद गोकर्णराज विष्टले शनिबार दरवारमार्गको सडकमा बसेर मोही पारेका छन् । उनले पारेको मोही आफैं पनि पिएका छन् ।
धेरै वर्षपछि मोही पार्ने मौका जुरेकामा विष्ट खुशी भएका छन् । नेपाल डेरी एसोसिएशन र रैथाने एग्री प्रोडक्टस नेपाल प्रालिबीच भएको सम्झौता अनुसार प्रत्येक शनिबार काठमाडौंको दरबारमार्गमा आयोजना हुने रैथाने कृषि उपज बिक्री वितरण गर्न आयोजना गरिएको हाट बजारमा नेपाल डेरी एसोसिएशनको सहयोगमा प्रत्यक्ष ठेकीमा मोही तुल्याई निःशुल्क मोही खुवाउने कार्यक्रम सञ्चालन हुँदै आएको छ । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले प्रत्येक शनिबार दरवारमार्गको अन्नपूर्ण होटलको सेरोफेरोमा मोही खुवाउने अभियान चलिरहेको बताए । उनले बिहान ६ बजेबाट दिउँसो १२ बजेसम्म सञ्चालन हुने अभियानमा दैनिक झण्डै ५ सय जनाले मोही पिउने बताएका छन् ।
दाहालले मोही स्वास्थ्यका लागि फाइदाजनक भएकाले मोही पिउनुपर्छ भन्ने अभियान चलाइएको बताए । उनले पाटी र भोजभतेरमा अन्य पेय र चिसो पदार्थ कम प्रयोग गर्ने सुझाव पनि दिएका छन् । ती पदार्थले मानिसको स्वास्थ्यमा असर गर्न सक्ने भएकाले मोही नै सधैंका लागि र सबैका लागि उपयुक्त भएको दाहालको भनाई छ ।
कार्यक्रममा नेपाल डेरी एसोसिएसन वाग्मती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरे र मधेस प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक शंकर साहले पनि आफैं मोही पारेर पिएका थिए ।
आफू धनगढीबाट काठमाडौं आएको बेला समय मिलाई यो कार्यक्रममा उपस्थित भएको एसोसिएसनका सल्लाहकार भुपेन्द्र थापाले बताए ।
