काठमाडौ, २४ भदौ । संविधानमा लेखिएका सबै मौलिक हक लागु गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको नेकपा (माओवादी केन्द्र) का उप महासचिव वर्षमान पुनले बताएका छन् ।

आज काठमाडौंमा हरितालिका तीजको अवसरमा अखिल नेपाल यातायात मजदुर संगठनद्धारा आयोजित अशक्त असहाय र दृष्टिबिहीनहरुका लागि राहत वितरण कार्यक्रममा उनले राज्यसँग भएको साधन र श्रोत अनुसार मौलिक हक लागु गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताए ।

उनले भने,‘राज्यसँग क्षमता छैन, क्षमता प्रर्याप्त छैन, राज्यसँग जति साधन र श्रोत छ त्यहीअनुसार मौलिक हक लागु गर्ने र अझ बढाउँदै लैजान सरकार प्रतिबद्ध छ । ’ उनले अपाङ्गतामैत्री पूर्वाधारहरु बनाउने अभ्यास सुरु भइसकेको भन्दै भने,‘आज अपाङ्गतामैत्री पूर्वाधारहरु बनाउने कानूनी व्यवस्था नै छ । त्यो अभ्यास सुरु भईसकेको छ । अपाङ्गता भएका या फरक क्षमता भएकालाई समाजमा हेप्न पाइँदैन, अरु नागरिकसरह समान अधिकार हुन्छ ।’

उनले माओवादीको तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु भएको भन्दै सबै जनतालाई आफ्नो समस्या र सुझाव दिन आग्रह गरे ।