Prime Minister of Nepal, Pushpa Kamal Dahal, resigns after addressing the nation from his office at Singh Durbar, Kathmandu, Nepal on Wednesday, May 24, 2017. (Photo by Narayan Maharjan/NurPhoto via Getty Images)

काठमाडौं । भदौ १९ गतेदेखि सुरू भएको संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ ३० गते संयुक्त राज्य अमेरिका जाँदैछन् ।

महासभाको ७८ औं सभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्नेछन् । मुख्यसचिव बैकुण्ठ अर्यालका अनुसार २४ सदस्यीय टोली अमेरिका जाने तय भएको छ । यो समूहमा प्रधानमन्त्रीको निजी सचिवालयबाट १० जना हुने छन् । विदेश जाने भनेपछि काम भएका र काम नभएका पनि जाने गरेका छन् । प्रधानमन्त्रीसँग जान मिल्ने भएपछि असम्बन्धित मान्छेको पनि ताँती लाग्ने गरेको छ । प्रधानमन्त्रीले पनि कसको काम के हो र किन लगिँदैछ भनेर कहिले पनि भन्ने गरेका छैनन् । कतिपय भ्रमणमा व्यापारी तथा व्यवासायी पनि घुम्नकै लागि पनि जाने गरेका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, स्वकीय सचिवहरू गंगा दाहाल, रमेश मल्ल, प्रेस सल्लाहकार गोविन्द आचार्य, निजी फोटोग्राफर प्रदीपराज वन्त, निजी भिडिओग्राफर नवराज दाहाल, निजी डाक्टर युवराज शर्मा र तीन जना सुरक्षाकर्मी हुने छन् । यस्तै मुख्यसचिव बैकुण्ठ अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी पनि भ्रमण टोलीमा सहभागी हुनेछन् ।

यसैगरी परराष्ट्रमन्त्री नारायण प्रसाद साउद, उनका स्वकीय सचिव दीपक जोशी, परराष्ट्र सचिव भरतराज पौड्याल, सह–सचिव सेवा लम्साललगायत प्रतिनिधि भ्रमण दलमा हुने छन् । न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुने तय भएको परराष्ट्रमन्त्री साउदले जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन आएका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुने कार्यतालिका रहेको छ ।

महासभा चलिरहँदा प्रधानमन्त्री प्रचण्डले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग पनि भेट गर्नेछन् ।