काठमाडौं, २६ भदौ । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको शव भोलि (बुधबार) सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।

श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको पार्टीले जनाएको छ । पूर्वसभामुख समेत रहेका नेम्वाङलाई राति १ बजे हृदयघात भएको थियो । त्रिवि शिक्षण अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकहरुले मृत घोषणा गरेका थिए । चिकित्सकले चेकजाँच गरेपछि कुनै पनि अंग नचलेपछि मृत्यु भएको घोषणा गरेका थिए ।

उहाँलाई १ बजेर ५० मिनेट जाँदा अस्पताल पुर्याइएको थियो । उनी १ बजे शौचालयमा बेहोस अवस्थामा भेटिएका थिए । बेहोस अवस्थामा भेटेपछि परिवारका सदस्यले टिचिङ अस्पताल लगेका थिए । उनी वालुवाटारमा बस्दै आएका थिए ।

७१ वर्षीय नेम्वाङ गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा इलाम २ बाट निर्वाचित भएका थिए ।
उनको निधन भएको थाहा पाएपछि राति नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरु अस्पताल पुगेका थिए । उनको निधनमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले दुःख व्यक्त गरेका छन् ।