काठमाडौं, भदौ ३१ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कार्यसमिति सदस्य तथा अर्थ सवाल साप्ताहिकका सम्पादक रमेशकुमार बोहोराले साना लगानीमा सञ्चालित मिडियालाई बचाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) का सचिव तथा बागलुङबाट निर्वाचित प्रतिनिधिसभाका सांसदसमेत रहेका पूर्वमन्त्री देवेन्द्र पौडेलले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोहोराले पछिल्लो समयमा साना लगानीका मिडियाले धेरै समस्या भोगेको बताए । ‘साना पत्रिका भन्दिन म, पत्रिका कुनै पनि सानो र ठूलो हुँदैन, लगानीमात्र सानो हो, यी मिडियालाई समस्या छ, कुन दिन बन्द गर्नुपर्ने हो थाहा छैन त्यसैले सरकारले यसतर्फ ध्यान दिओस्’ सरकारको नेतृत्व गरेको पार्टीका नेता पौडेललाई बोहोराले भने ‘मिडियाले हरेक समयमा सरकारलाई सहयोग गरिरहेको छ, राम्रा कामको चर्चा गरेका छौं तर मिडिया नै बन्द हुने अवस्था आउनु दुःखद् पाटो हो ।’

बोहोराले सरकारले मिडियालाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने पनि बताए । उनले मिडियामा समाचार नआएपछि सरकारले, मन्त्री र सांसदले जतिसुकै राम्रो काम गरे पनि अर्थ नहुने भन्दै मिडियामा भएका समस्याको बारेमा सांसदले समेत संसदमा आवाज उठाउनुपर्नेमा जोड दिए । उनले मिडियालाई व्यवस्थित गर्ने नाममा खोलिएका कतिपय संस्थाले पत्रकारलाई झन् संकटमा पारेको भन्दै त्यसको खारेजीको समेत माग गरे । उनले विज्ञापन बोर्डले पत्रिकाका लागि दिँदै आएको रकममा ३ प्रतिशत कटौती गरेकोमा समेत आपत्ति जनाए ।

कार्यक्रममा पत्रकारहरुले सरकार, पार्टी, पार्टीको ३ महिने रुपान्तरण अभियानलगायतका विषयमा धारणा राखेका थिए । नेता पौडेलले पत्रकारका सुझावलाई आफूले गम्भीरतापूर्वक लिएको र सम्बन्धित ठाउँमा राख्ने पनि बताएका थिए । नेता पौडेलले पछिल्लो समयमा पत्रकारसँग निरन्तर अन्तरक्रिया गर्दै आएका छन् ।