काठमाडौं, असोज ३ । संविधान दिवस २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाजसहित विभिन्न संघसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । त्यतिबेला सभामुख सुवासचन्द्र नेम्वाङ रहेका थिए । नेम्वाङको केही दिनअघि निधन भएको छ । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ । २०७० साल मंसिर ४ गते भएको संविधानसभाको निर्वाचनबाट यो संविधान बनेको थियो ।
अझै पनि विभिन्न संघसंस्थाहरुले संविधान नेपाल र नेपालीको हितमा नभएको भन्दै टिप्पणी गर्दै आएका छन् । दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना दिएका छन् ।