
काठमाडौं, असोज ३ । सरकारले सर्वसाधरणलाई धुमधामका साथ संविधान दिवस मनाउन आग्रह गरिरहेका बेला निर्वाचन आयोगमा दर्ता भएको नेपाल समाजवादी कांग्रेसले भनें संविधानको विरोधमा प्रदर्शन गरेको छ ।
उनीहरुले कालो ब्यानरमा अधिनायकबाद सामन्तबाद–मुर्दावाद, २०७२ को संविधान धोका हो, नेपाल समाजवादी कांग्रेस जिन्दावादलगायतका नारा लेखेका थिए । पार्टी अध्यक्ष गोविन्द निरौलाले संविधान नेपाल र नेपालीको हितमा नभएकाले यसविरुद्ध आन्दोलन गर्नुपरेको जनाएका छन् ।
संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिवसका रुपमा मनाउन उनले सबैलाई आग्रह गरेका छन् । अध्यक्ष निरौलाले संविधान बनाउने पक्षसँग यसका बारेमा जति पनि वहस गर्न आफू तयार भएको बताएका छन् । ‘संविधान नेपाल र नेपालीको हितमा छैन र हुँदैन पनि, यो संविधान कसैको स्वार्थ पूरा गर्नका लागि ल्याइएको हो ’ उनले भने ‘यो संविधान राम्रो र जनताको पक्षमा छ भनेर कोही तर्क गर्छ भनें म घण्टौं वहस गर्न तयार छु तर पनि म हार्दिन ।’

पार्टी सचिव मानबहादुर गुरुङले संसद भवन नयाँ बानेश्वर अगाडि गरिएको प्रदर्शन निकै अर्थपूर्ण भएको बताए । उनले संविधानविरुद्ध निरन्तर आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए । उनले यो संविधान तत्कालै खारेज हुनुपर्ने बताएका छन् । सचिव गुरुङले भोलिका दिनमा संविधान यो कारणले देशको अहितमा छ भनेर समाजमा चेतना फैलाउनेसमेत बताए । पार्टीले आफूहरुले छिटै नयाँ संविधान जारी गर्ने पनि जनाएको छ । केही संघसंस्थाले भनें संविधान नेपाल र नेपालीको पक्षमा नभएको भन्दै विरोध गर्दै आएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए ।







