काठमाडौं, असोज ५ । पूर्वमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले छिमकी राष्ट्रहरुसँग सन्तुलित र सकारात्मक सम्बन्ध कायम गरेर जानुपर्नेमा जोड दिएका छन् ।

राजधानीमा हालै आयोजित ‘समकालीन नेपाली राजनीतिमा आन्तरिक तथा बाह्य आयाम’ विषयक अन्तरक्रियामा प्रमुख अतिथि रहेका ज्ञवालीले केही कमजोरी भए पनि नेपालको संविधान राम्रो रहेको बताए । नेपाल बुद्धिजीवि परिषद, राष्ट्रिय सुरक्षा तथा वैदेशिक सम्बन्ध अध्ययन केन्द्रका अध्यक्ष डा. राजेन्द्र चापागाइको अध्यक्षतामा भएको अन्तरक्रियामा परराष्ट्र मामिलाका जानकारहरुले नेपालको कुटनीतिक क्षेत्रका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा प्रा.डा. मीना वैद्य मल्लले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । नेपालले पछिल्लो समय अवलम्बन गरको परराष्ट्र नीति, नेपालको परराष्ट्र सम्बन्ध तथा आन्तरिक र वाहय आयामहरुका बारेमा मल्लले चर्चा गरेकी थिइन् । मल्लको कार्यपत्रमा तीन पूर्वराजदूतले टिप्पणी गरेका थिए ।

नेपालको तर्फबाट चीनका लागि पूर्वराजदूत डा. महेश मास्के, संयुक्त राष्ट्रसंघका लागि पूर्वराजदूत डा. दिनेश भट्टराई तथा इजरायलका लागि पूर्वराजदूत डा. अञ्जान शाक्यले नेपालको परराष्ट्र सम्बन्धमा देखिएका चुनौती र अवसरहरुका बारेमा धारणा राखेका थिए ।

डा. मास्केले र डा.शाक्यले विश्व अहिले द्वन्द्वको भूमरीमा फस्दै गएकोमा चिन्ता व्यक्त गरे । डा. दिनेश भट्टराईले नेपालको भू–राजनीतिक परिवेश संवेदनशील भएको खतरा औंल्याए ।

नेपाल बुद्धिजीवी परिषदका अध्यक्ष डा. दिनेशचन्द्र देबकोटाले कुनै पनि धनी राष्ट्रले आर्थिक भौतिक सहयोग गर्दा उसमा स्वार्थ हुने भएकाले त्यसमा सजग रहनुपर्ने र देशलाई आत्मनिर्भर बनाउनुपर्ने कुरामा जोड दिए । कार्यक्रमको अध्यक्षता गरेका वैदेशिक सम्बन्ध केन्द्रका अध्यक्ष डा. राजेन्द्र चापागाईंले नेपालका दुई ठूला छिमेकी राष्ट्र भारत र चीनले अन्तर्राष्ट्रिय स्तरमा ठूलो फड्को मारिसकेकाले नेपालले त्यसको फाइदा उठाउन सक्नुपर्ने बताए । कार्यक्रममा एक सयभन्दा बढी अन्तर्राष्ट्रिय मामिलाका जानाकार र बिज्ञहरु सहभागी थिए ।