काठमाडौं । नेकपा एमालेको प्रदेशको अधिवेशनको प्रक्रिया अघि बढेको छ । आज र भोलि वाग्मती प्रदेशको अधिवेशन हुँदैछ । काठमाडौंको भृकृटीमण्डपमा हुने अधिवेशनमा पर्सी बिहीबार मतदान हुँदैछ ।
पार्टी नेतृत्वले भनें आफूअनुकुलका मान्छेलाई नेतृत्व दिनका लागि सहमतिको प्रयास गरिरहेको छ । आकांक्षीको संख्या बढी भएकाले सर्वसम्मत नेतृत्व चयन भनें समस्यामा परेको छ । हिजोदेखि कृष्णभक्त पोखरेलको पनि अध्यक्षमा नाम आएको छ । यसअघि कृष्णप्रसाद दाहाल, सानु श्रेष्ठ, कैलाश ढुंगेल, केशवप्रसाद पाण्डे अध्यक्षका उम्मेदवारको प्रत्यासी भएको भनेर भेटघाट अभियानलाई तीब्र बनाउँदै लगेका छन् । केही दिनअघि लुम्बिनी प्रदेशको अधिवेशन सकिएको छ । अधिवेशनले राधाकृष्ण कडेलको नेतृत्वमा प्रदेश कमिटी चयन गरेको छ । लुम्बिनीमा पनि सहमतिको प्रयास गरिएको थियो तर केही पदमा निर्विरोध भयो भने अध्यक्षलगायतका केही पदमा निर्वाचन भएको थियो । निर्वाचनले प्रदेशमा यो पक्ष कमजोर र यो पक्ष बलियो रहेको चर्चा गरिएको छ । आफ्ना पक्षका मान्छेलाई जिताउन नेताहरु लागिपरेका थिए ।
अधिवेशनमा जाँदा पार्टीभित्र आन्तरिक विवाद बढेको भन्दै एमालेले अब हुने प्रदेशका सबैजसो अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिरहेको छ । अधिवेशनमा अध्यक्षसहित अरु पदमा उम्मेदवारी दिनेको संख्या निकै ठूलो रहेको छ । पार्टी नेतृत्वले निर्वाचनको प्रक्रियामा जाँदा आफूले चाहेको मानिस नेतृत्वमा आउने सम्भावना नदेखेको खण्डमा सकेसम्म सर्वसम्मतको पहल गर्ने छ । राजनीतिमा कतिपय अवस्थामा नेतृत्वले भनेपछि मान्नैपर्ने भएकाले पनि पदाधिकारीमा भनें निर्वाचन नहुन सक्ने सम्भावना पनि छ तर सदस्यहरुमा आकांक्षीका साथै पद पनि धेरै हुने भएकाले निर्वाचन हुने बलियो सम्भावना छ । पार्टीको मूल नेतृत्वले अध्यक्षसहित पदाधिकारीलाई मात्र विशेष चासोको साथ हेर्ने भएकाले पनि अन्य पद ओझेलमा पर्ने गरेका छन् । निर्वाचनमा जाँदा पराजित भएकाले पनि पराजयलाई स्विकारेर निर्वाचितलाई सघाउनुपर्ने बाध्यता रहने गर्दछ तर प्रमुख नेताले जवर्जस्ती आफ्नो पक्षका नेताको नाममा अडान लिएर जवर्जस्ती रुपमा सर्वसम्मत भनेको खण्डमा भनें विवाद झनै बढ्ने खतरा छ ।
एमालेमा अध्यक्ष केपी शर्मा ओलीले भनेका सबैजसो कुरा निर्णायक हुने भएकाले पनि ओली अघि सरेर बोलेको खण्डमा अरु कसैले विरोध नगर्ने वातावरण बन्दा पनि अचम्म मान्नु पर्दैन ।
यो अधिवेशनमा पद नपाएकालाई पार्टीले भोलिका दिनमा आउने अनेक अवसर दिने भनेर फकाउने सम्भावना पनि त्यत्तिकै छ । नेतृत्वको विरोधमा गइयो भनें भोलिको राजनीति झन् खतरनाक हुने भएकाले पनि धेरैजसो मुखै खोलेर यो र त्यो निर्णय मान्दैनौं भन्ने अवस्थामा पनि हुँदैनन् । निर्वाचनको प्रक्रियाबाट अध्यक्ष भएकाले मतदाता र कार्यकर्ताप्रति अलि बढी जिम्मेवार वहन गरे पनि सर्वसम्मत भएकाले भनें त्यो जिम्मेवारी कमैमात्र वहन गरेको देखिँदै आएको छ ।
पार्टीका तल्लो तहका नेताले पनि ‘उ त टिको लाएर अध्यक्ष’ भएको भनेर कम मूल्यांकन गर्ने खतरा पनि उति नै छ तर निर्वाचनमा मतदाताले मत दिएर चुनिएको नेतृत्वले गर्ने हरेक निर्णय सान्दर्भिक र अर्थपूर्ण हुने कुरालाई स्वभाविक मान्न सकिन्छ । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा उम्मेदवार बन्न रहर गर्ने सबैलाई खुलारुपले छोडिदिने हो भनें पार्टीमा एक प्रकारको विवाद कम हुन्छ तर नेतृत्वले यो र त्यो भनेर अडान लिँदा सधैं समस्या जस्ताको त्यस्तै रहने सम्भावना पनि छ । यो अधिवेशन प्रदेशको दोस्रो अधिवेशन हो । योभन्दा अघि लुम्बिनीको अधिवेशन भएको थियो । यसअघि पार्टीले सहमतिको आधारमा भन्दै कसैलाई जिम्मेवारी दिएको थियो ।
नेकपा एमालेका काठमाडौंका उप–सचिव तेजप्रसाद ढकाल सहमतिमा नेतृत्व चयन हुनुलाई गलत ढंगले व्याख्या गर्न नहुने बताउँछन् । ‘सहमति नै गर्नु हुँदैन र सधैं चुनावमा नै जानुपर्छ भन्ने मान्यता राख्नु पनि राम्रो होइन, सहमति पनि लोकतान्त्रिक विधि र प्रक्रिया नै हो ’ ढकालले भने ‘जो–जो जुन पदमा उम्मेदवार बन्छु भन्छन् उनीहरुको बीचमा सहमति भएर कसैलाई जिम्मेवारी दिनु र सबैले स्विकार्नु पनि एउटा उपयुक्त विधि हो ।
’ ढकालले अबको अधिवेशनमा आउने नेतृत्वले पार्टी संगठन बढाउने र पार्टीलाई गतिशील बनाउनेतिर ध्यान दिनुपर्ने बताए । आगामी निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने गरी एमालेले आफूलाई अघि बढाउनुपर्ने उनको भनाई छ ।
एमालेले आगामी चैतसम्म वडा तहको अधिवेशन पनि सक्ने जनाएको छ । प्रदेश अधिवेशनपछि जिल्ला, स्थानीय तह र अन्तिममा वडाको अधिवेशन हुने छ । एमाले काठमाडौंले पौष २३ र २४ गते जिल्लाको सातौं अधिवेशन गर्ने मिति तय गरेको छ । काठमाडौंको पाँचौं र छैटौं महाधिवेशन पनि सोही मितिमा भएको थियो । एमालेका जिल्ला कमिटी काठमाडौंका उप–सचिव ढकालले एमालेप्रति जनताको आस्था बढ्दै गएकाले भोलिको निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने बताए । उनले एमालेले गरेका राम्रा कामको चर्चा गर्न पार्टीका नेता तथा कार्यकर्ता गाउँगाउँ जानुपर्ने र एमालेमाथि छरिएको भ्रम हटाउनुपर्नेमा जोड दिएका छन् ।