
काठमाडौं । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीले पत्रकारिता र पार्टीलाई अलग्गै राखेर हेर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय जनमोर्चानिकट प्रगतिशील पत्रकार संघ नेपालले आज काठमाडौंमा आयोजना गरेको ‘संविधान र प्रेस स्वतन्त्रता’ विषयक कार्यक्रममा भण्डारीले पार्टीगत विचारभन्दा माथि उठेर पत्रकारहरुले समाचार प्रस्तुत गर्नुपर्ने बताए । उनले पार्टीनिकट भएर काम गर्न पाउने पत्रकारको अधिकार भएको भए पनि त्यसको असर पत्रकारितामा पर्नु दुर्भाग्य भएको बताए । ‘हामी सबै कतै न कतै पार्टीसँग निकट छौं त्यसैले पनि हामीलाई कताकता पत्रकारितामा व्यावसायिकताको समस्या परेको छ कि जस्तो लाग्छ’ उनले भने ‘ पत्रकारले आफ्नै पार्टीनिकट मान्छेले गलत गरे भनें पनि त्यसको भण्डाफोर गर्न सक्नुपर्दछ, यसो गरिएन भनें हाम्रो पत्रकारिता बलियो हुँदैन ।’ उनले पार्टीनिकट भएर काम गर्दा पत्रकारलाई समाचार लेख्न र बोल्न समस्या पर्दै आएको पनि स्पष्ट पारे । पत्रकारहरूको पार्टीको सिधै कार्यकर्ता हुँदा उनीहरुको समाचार र विचारमाथि जनताको अविश्वास हुने गरेको भन्दै उनले पार्टी र पत्रकारिता अलग्गै हेर्नुपर्नेमा जोड दिए ।
उनले अहिले पत्रकारिता पेशा संकटमा परेकोमा दुःख व्यक्त गरे । उनले संकटमा परेको पत्रकारितालाई बचाउन सबै संघ संगठन एकबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । उनले केही मिडियामात्र अहिले सञ्चालन गर्न सहज भएको र अरुको अवस्था दयनीय भएकाले यसलाई टिकाउन सबैले पहल गर्नुपर्ने बताए ।
‘पत्रकारहरु पार्टीतिर लागेकाले व्यावसायिक पत्रकारिता हुन सकेन भन्ने हामीलाई आरोप लागेको छ’ उनले भने ‘पार्टीको राजनीति बेग्लै हो र पत्रकारिता त्योभन्दा छुट्टै पाटो हो त्यसैले हामी पनि समाजप्रति जिम्मेवार भएर लाग्नुपर्छ ।’
उनले प्रेस स्वतन्त्रताका नाममा पत्रकारहरुले जिम्मेवारी बिर्सिदै गरेकामा पनि चिन्ता व्यक्त गरे । पछिल्लो समयमा सामाजिक सञ्जालका अन्य माध्यमले गर्दा पत्रकारिता संकटमा पर्दै गएको जनाए । उनले सामाजिक सञ्जालले समाजमा ह्वीम फैलाउने र त्यसैको आधारमा मानिसले धारणा बनाउँदै गरेको पनि जनाए ।
कार्यक्रममा पार्टीनिकट विभिन्न संघ संगठनका प्रतिनिधिले धारणा राखेका थिए । नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आयोजक संस्था प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा संघले १४ बुँदे अवधारणापत्र प्रस्तुत गरेको थियो ।
