गंगा बराल
काठमाडौं । वाग्मती प्रदेशकी नेपाली कांग्रेसकी सांसद यमुनादेवी श्रेष्ठलाई पति वियोग परेको छ । उनका श्रीमान भूपेन्द्रलाल श्रेष्ठको २०८० साल असोज ११ गते दिउँसो ११ बजेर १५ मिनेट जाँदा काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ११ मा रहेको आफ्नै घरमा निधन भएको छ । लामो समयदेखि बिरामी भएका यमुनाका श्रीमानलाई उपचारका लागि नेपालमात्र नभएर भारतको अस्पताल र अन्य ठाउँमा पनि लगिएको थियो तर उपचार हुन सकेन । आज उनको १२ औं दिनको काम गरिँदैछ ।

‘अवस्था नाजुक थियो, सामान्य काम पनि गर्न सक्ने अवस्था थिएन, शरीर सिथिल भइसकेको थियो तर त्यति हुँदा पनि सधैं विकासको कुरा गर्नुहुन्थ्यो’ श्रीमती श्रेष्ठले भनिन् ‘उहाँलाई अझै पनि केही गरेर नै जाउँ भन्ने इच्छा थियो तर त्यो पूरा हुन सकेन, अन्तिम अवस्थासम्म जे जस्तो गर्नुभयो त्यो नै उदाहरणीय छ ।’ २०१५ साल भदौ २८ गते वागलुङमा जन्मिएका भूपेन्द्रलाललाई धेरैले पुल विशेषज्ञका रुपमा चिन्ने गर्दथे । उनले आफ्नो जागिरे जिवनमा गरेका राम्रा कामले अहिले पनि चर्चा कमाइरहेका छन् । पर्वतको पाँगादेखि वागलुङको बाङ्गेचोर जोड्ने ५६८ मिटरको झोलुङ्गे पुल बनाउने योजना उनैले गरेका थिए । उनी आफैं डिजाइन गर्ने र निर्माण नहुँदासम्म त्यहाँ खटेर काम सम्पन्न हुन्जेलसम्म नै सक्रिय रहन्थे ।

उनले गरेका काममा त्यतिबेला कसैले गुनासो नगरेको उनलाई चिन्नेजान्नेहरु बताउँछन् । उनकै पालामा वागलुङको बसपार्कबाट सिम जाने पुल पनि बनेको थियो, जुन ठाउँमा पुल बन्छ भनेर कसैले पत्याएका पनि थिएनन् । ‘त्यो ठाउँमा पुल बन्दा त लगानी गर्नेले पनि पत्याएनन्, यस्तो ठाउँमा कसरी सम्भव हुन्छ भनेर लगानी गर्नेले भने, म गर्छु सक्छु भनेर थाल्नुभयो अनि सबै छक्क परे’ श्रीमती श्रेष्ठ भन्छिन् ‘उहाँले अधिकांश विकास निर्माणका काममा केही न केही गरेर उदाहरणीय काम गर्नुभएको थियो ।’ स्थानीय सरस्वती खनाललाई पनि भूपेन्द्रलालको सक्रियता र जाँगर देख्दा अचम्म लाग्ने गर्दथ्यो ।

जहाँसुकै पनि सक्रियता देखाउने भूपेन्द्रलालले अन्तिम समयसम्म पनि समाजमा केही दिनुपर्छ भनेर अभियान चलाएको बताइन् । ‘उहाँबाट धेरै कुराहरु हामीले सिक्नुपर्छ, समाजको हितका लागि जे काम पनि मरिहत्ते गरेर लाग्नुहुन्थ्यो, तपाई बिरामी हुनुहन्छ गर्नु पर्दैन भन्दा पनि मान्नु हुन्नथ्यो’ खनालले भनिन् ‘उहाँले जति सक्नुभयो समाजलाई दिनुमात्र भयो तर त्यसबापत कुनै पनि गलत नियतले केही नराम्रो काम गर्नुभएन ।’

नेपाली कांग्रेसका क्रियाशील सदस्य भूपेन्द्रलालले वागलुङ, पर्वत र काठमाडौं जिल्ला विकास समितिमा डिभिजन इन्जिनियर भएर काम गरे । उनले कन्स्ट्रक्सनमा मास्टर्स गरेका थिए । श्रीमती यमुनादेवी श्रीमानले कहिले पनि गलत सोच राखेर काम नगरेको बताउँछिन् ।

‘त्यत्रो लामो समयसम्म सरकारी जागिर खाँदा र कतिपय पुल बनाउँदासहित अन्य काम गर्दा पनि उहाँप्रति कसैको केही गुनासो सुनिएन त्यसमा म खुशी भएकी छु’ यमुनादेवीले भनिन् ‘मैले भ्रष्टाचार गर्न लगाएको भए उहाँको श्वास त्यति सजिलै जाँदैनथ्यो होला ।’ उनले केही वर्षअघिबाट जागिरबाट अवकाश पाएका थिए ।

२०६२ को जनआन्दोलनमा श्रीमान श्रीमती नै आन्दोलनमा होमिएका थिए । आन्दोलनमा दुबैजना घाइते भए । कलंकीको आन्दोलनको नेतृत्व उनीहरुले नै गरेका थिए । ‘ती दिन सम्झिँदा अझै पनि खुशी लाग्छ, जसका कारण हामीले उपलब्धि पायौं तर त्यहाँ पाएको दुःख र त्यसपछिको समस्या सम्झिँदा भनें अझै पनि मन पोलेर आउँछ’ यमुनादेवीले भनिन् । आन्दोलनका कारण उनीहरु दुबैजना केही वर्ष थला परेका थिए । आन्दोलनमा घाइते उहाँले पछि कसरी जागिर खानुभयो भन्ने प्रश्नमा यमुनादेवीको जवाफ यस्तो छ–‘उहाँलाई जनताको काम र समाजसेवा गर्न पाए पुग्थ्यो त्यस्तो अवस्थामा पनि जागिरमा सक्रिय हुनुहुन्थ्यो, नजानु र नगर्नु भन्दा पनि कहिल्यै पनि मान्नुभएन र जनताको सेवा छोड्दिन भन्नुभयो ।’

भूपेन्द्रलालका एक छोरा क्षितिज, एक बुहारी र एक छोरीसहित ५ जना नातीनातिना रहेका छन् । छोरा पनि कम्प्युटरसम्बन्धी काम गर्छन् भनें छोरी इस्ट्रक्चर इन्जिनियर हुन् । उनले अमेरिकाबाट यही विषयमा डिग्री गरेकी छिन् । विभिन्न सामाजिक संघसंस्थामा पनि सक्रिय भूपेन्द्रलालको निधनले कांग्रेसले सच्चा, त्यागी र आदर्शवान नेता गुमाएको पार्टीले जनाएको छ ।

आफ्नै घरमा १३ औं दिनसम्म पतिको निधनमा दैनिक संस्कार गर्दै आएकी यमुनादेवी, छोरा बुहारी, छोरीसहित परिवारजनले यो दुःखद् क्षणमा आएर समवेदना प्रकट गर्नेहरुप्रति हार्दिक आभार व्यक्त गरेका छन् । समबेदना दिन कांगे्रसका शीर्ष नेतादेखि, केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यका साथै वाग्मती प्रदेशसभाका सांसदहरु, कांग्रेस तथा अन्य पार्टीका नेता तथा शुभेच्छुकहरु घरमै पुगेर दिवंगत भएका भूपेन्द्रलालप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । त्यसैगरी आगन्तुकहरुले शोकमा रहनुभएका श्रीमती, छोराछोरी, बुहारी, नातीनातिना तथा सम्पूर्ण परिवारप्रति हार्दिक समबेदना व्यक्त गरेका छन् ।