काठमाडौ, असोज २१ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशमा भएका अधिवेशनमा गुटबन्दी गर्न नहुने भनेर त्रास पैदा गरे । यतिमात्र होइन गुटबन्दी गरे र अधिवेशनमा प्यानलै बनाएर चुनाबी मैदानमा उत्रिए कारबाही गर्ने चेतावनी नै दिए ।

एमालेले केही प्रदेशमा अधिवेशन सकेको छ । अध्यक्षमा कुनै पनि प्रदेशमा सहमति हुन सकेन र निर्वाचनको प्रक्रियाबाट नै अध्यक्ष चुनिए । धेरैजसो पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । ओली नै सबै प्रदेशको अधिवेशन गर्न पुगेका थिए । उनले आफ्नो पक्षको उम्मेदवारलाई जिताउन प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा निर्देशन नै दिए । कोशी प्रदेशको अधिवेशन उद्घाटन गर्दै उनले अध्यक्षले भनेको इशारा बुझ्न आग्रह गरेका थिए । उनले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका थिए । निर्वाचनमा जाँदा आन्तरिक मतभेद बढ्ने र त्यसले भोलिका दिनमा पार्टीलाई असर गर्न सक्ने उनको भनाई रहेको थियो ।

ओलीसहित पार्टीको शीर्ष नेतृत्वले आफ्नो पक्षका उम्मेदवारलाई जिताउन निकै पहल गरे । आगामी निर्वाचनमा प्रदेशको टिकट बाँड्नेदेखि लिएर विभिन्न ठाउँमा अध्यक्षको भूमिका निर्णायक हुने भएकाले पनि अध्यक्ष बन्न र नेतृत्वमा आउन सबैले रहर गरेका थिए । ओलीले लाइन दिएकाले नै धेरैजसो पदमा जितेका छन् । पार्टीमा केन्द्रमा ओली नै मात्र नेतृत्वमा रहेकाले केन्द्रमा अर्को गुट नभए पनि प्रदेश, जिल्ला र अरु तहमा भनें एमालेमा पनि आन्तरिक द्वन्द्वको असर परेको छ । केन्द्रमा विभाजन नभए पनि अन्य तहमा देखिएको विभाजनले एमालेलाई पनि जनताको माझमा गएको निर्वाचनमा केही असर परेको छ ।

वाग्मती प्रदेशको महाधिवेशन निकै लामो समयसम्म लम्बियो । औपचारिक कार्यक्रम समयमै सकिए पनि अध्यक्षसहित केही पदमा निर्वाचन नै गर्नुपर्ने भएकाले समय लम्बिएको थियो । पार्टीमा पहुँच र पावर भएकाले आफ्नो पक्षले जित्ने सम्भावना नभएसम्म निर्वाचन गराउन चाहँदैनन् । यो कुरालाई वाग्मती प्रदेशको अधिवेशनले पनि पुष्टि गरिदिएको छ । वाग्मतीमा मकवानपुरका कृष्णप्रसाद दाहाललाई हराउँदै रामेछापका कैलाशप्रसाद ढुंगेल अध्यक्षमा चुनिए । सबैजसो प्रदेशमा प्यानलै खडा गरेर उम्मेदवारहरु प्रतिस्पर्धामा उत्रिए । पार्टीले यस्तो गर्नु हुँदैन भनेर भन्नु केबल औपचारिक धर्म निर्वाह गर्नुबाहेक केही थिएन । एमालेले यसअघि आफ्ना विभिन्न भ्रातृ संघसंस्थाको निर्वाचनमा पनि यो कुरालाई अघि सारे पनि कार्यान्वयन हुन सकिरहेको छैन । एमालेले चैत्रको अन्तिमसम्म वडा तहको अधिवेशन पनि सक्ने निर्णय गरिसकेको छ । एमालेले आफूलाई रुपान्तरण गरेर लैजाने भन्दै कार्यकाल सकिन बाँकी रहेका कमिटी पनि भंग गरी नयाँ नेतृत्व चयन गर्न लागेको हो ।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि एमालेको राजनीतिमा आउने चाहना गरेर सक्रियता बढाएपछि ओली रिसाएका छन् । ओलीले पटक पटक भण्डारीलाई राष्ट्रपति भएको व्यक्तिले सम्मानित ठाउँमा बस्नुपर्ने भन्दै निर्देशनसमेत दिएका छन् । भण्डारी राष्ट्रपतिको कार्याकल सकेर बिदा भएलगत्तै राजनीतिमा नजानिँदो पाराले सक्रिय बनेकी छिन् । उनलाई उनीपक्षीय नेता तथा कार्यकर्ताले सक्रिय राजनीतिमा आउन आग्रह गरेका छन् । भण्डारीले केही समयअघि पार्टीका नेतासँग भेटघाटलाई तिब्र बनाएकी थिइन् यतिबेला पनि ओली ‘फायर’ भएका थिए । पार्टीमा हिजोको दिनमा ओलीको एकलौटी भएकाले ओलीले जे गर्दा पनि कोही बोल्न सक्दैनथे र ओलीले कतिपय घटनामा आफूलाई मात्र फाइदा हुने गरी निर्णय गरेको भनेर आलोचना भएको छ । ओलीले खाइपाई आएको आफ्नो प्रधानमन्त्री पद संकटमा परेपछि दुईपटक प्रतिनिधिसभा भंग गरेर कलंकको टिका लगाएका छन् । प्रतिनिधिसभा भंग गर्न संविधानले दिँदैन भन्ने एमालेका ओलीनिकटलाई पनि राम्रो थाहा थियो तर ओली रिसाउलान् भनेर कसैले पनि ओलीको कदमको विरोध गरेनन् ।

भण्डारीलाई आगामी अधिवेशनमा एक पक्षले अध्यक्षको उम्मेदवारको रुपमा अघि सारेका छन् । हिजो ओलीको विकल्प नभएकाले चुपचाप सहेर बसेका नेताहरु अहिले भण्डारीतिर ढल्किन थालेका छन् । भण्डारीको सक्रियता बढेपछि ओलीले केही पुराना नेतासहित आफ्नोमात्र फोटो कार्यक्रममा राख्न निर्देशन नै जारी गरे । भोलि भण्डारी सक्रिय भएर राजनीतिमा आइन् भनें उनको बर्चश्व बढ्ने डरले भण्डारीको फोटो रोक्न पनि ओलीले यस्तो कडाई गरेको भनेर टिप्पणी गरिएको छ ।