
काठमाडौं, २२ असोज । स्वास्थ्य सहायक (केयर गिभर) को रुपमा इजरायल जान लागेका २४ जना नेपालीलाई रोकिएको छन् । पर्सी उडान कार्यतालिका रहेका उनीहरुलाई तत्काल रोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका महानिर्देशक मदन दाहालले इजरायल र गाजाबीचको द्वन्द्वका कारण तत्कालका लागि उनीहरुलाई त्यसतर्फ नपठाउने निर्णय गरिएको बताए । २०७९ सालमा इजरायलले स्वास्थ्य सहायकको रुपमा १ हजारभन्दा बढी नेपालीलाई आफ्नो देश लैजान छनौट गरेको थियो । जसमध्ये अन्तिममा २४ जनामात्रै जान बाँकी थियो । तीबाहेक सबै जना विभिन्न चरणमा गरेर इजरायल गइसकेका छन् । अब अवस्था सहज भएको खण्डमा मात्रै उनीहरुलाई पठाइने विभागले जनाएको छ । इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ ।
