![](https://aalochanadainik.com/wp-content/uploads/2023/07/Mitsubishi-1230x100-F02.gif)
काठमाडौं, असोज २२ । नेपालवाट हरेक दिनजसो रोजगारीको नाममा विदेशिने हजारौं नेपाली युवाहरु छन् । ती युवाहरु देशमा उचित वातावरण तथा रोजगारी नपाएको कारण विदेशिन बाध्य छन् । त्यसरी रोजगारीको लागि विदेशिने युवाहरु काममा धेरैजसो अदक्ष हुने गरेका छन् । जसको कारण विदेशको रोजगारीमा नेपाली युवाहरुले राम्रो काम पाउन सकेका छैनन् । अदक्षताको कारण विदेशमा धेरै कठिनाई भोग्नुपर्ने बाध्यता रहेको छ ।
लामो समयदेखि गैरआवासिय नेपाली संघमा रहेर नेपाल र नेपालीको हकहित र अधिकारको लडाई लड्दै आएका गणेश के.सी.‘विदेशमा अदक्ष नेपाली होइन, दक्ष नेपाली’ भन्ने नारा नै बोकेर आसन्न गैरआवासीय नेपाली संघको निर्वाचनमा होमिएका छन् । एनआरएनको आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा अष्ट्रेलियाबाट गणेश के.सी.ले उम्मेदवारी घोषणा गरेका छन् । केसीसँगको आसन्न गैरआवासीय नेपाली संघको चुनावी एजेन्डाको विषयमा गरिएको संक्षिप्त कुराकानी– तपाईको चुनावी एजेन्डा के छ ? अदक्ष नेपालीलाई दक्ष नेपाली बनाएर विदेशमा सान तथा गौरब बढाउने मेरो मुख्य एजेण्डा हो । त्यसका लागि नेपालका सातै प्रदेशमा नेपालीहरुलाई दक्ष बनाउने व्यावसायिक सीप तालिम केन्द्र स्थापना गर्ने छु । त्यसको अलावा रोजगारीको सिलसिलामा विदेश जाँदा अपनाउनुपर्ने सबै कार्य तथा प्रक्रियाको निःशुल्क परामर्श दिनेदेखि देश विकासमा विदेशमा सिकेका र जानेका सीपलाई नेपालको विकासमा लगाउने मेरो प्रमुख योजना छ ।
विदेशमा रहेका नेपालीहरुको लागि के कस्तो योजना छ ?
विश्वभर छरिएर रहेका नेपालीहरुको दुःखसुखमा साथ दिने काम मैले सधैं नै गरिरहेको छु । भोलिका दिनमा पनि गर्ने छु । विश्वभर छरिएर रहेका नेपालीलाई कुनै कारणवाट कहीँकतै समस्या परेमा त्यसको समाधान गर्ने र गराउने मेरो अर्को प्रमुख प्रतिबद्धता रहेको छ । विदेशमा कुनै पनि नेपालीलाई कुनै पनि प्रकारको समस्या नहोस् भनेर निरन्तर कार्य गर्दै जाने छु । तपाईलाई आफूलाई अरुमाझ चिनाउनुपर्दा कसरी चिनाउनुहुन्छ ? मैले सन् १९९५ देखि अस्ट्रेलियालाई कर्मभूमि बनाएको छु । सन् २००१ मा एनएडिएफको नेतृत्व गर्दै सामाजिक सेवामा लाग्दै आएको छु त्यसपछि सन् २००५ मा एनआरएनए संस्थापक साधारण सदस्य हुँदै सन् २००७ –२००९ को कार्यकालमा एनआरएनए अष्ट्रेलियाको कार्यकारी सदस्य, सन् २००९–२०११ मा उपाध्यक्ष र सन् २०११–२०१३ मा एनआरएनए अस्ट्रेलियाको अध्यक्ष २०१३–२०१५ मा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी सदस्य), २०२१–२०२३ एनआरएनए आईसीसीका उपमहासचिव हँुदै हाल एनआरएनए व्यावसायिक शिक्षा ग्लोबल कमिटीको प्रमुख छु ।
तपाईको थप परिचय ?
अस्ट्रेलियाबासी नेपालीहरुको विश्वास जित्दै मत परीक्षणबाट आफूलाई एनआरएनएभित्र स्थापित गर्न सफल भएको छु । मेरो कार्यकालमा महापुराणबाट संकलित एक करोड पचास लाख बराबरको सामाजिक कल्याणकारी कोषको स्थापना गर्दै नेपाली समुदायको लागि ठूलो योगदान दिएको कुरा कसैवाट पनि छिपेको छैन । त्यस्तै, सातौं ओशिनिया क्षेत्रिय सम्मेलन भब्य र सभ्य रुपमा सिड्नीमा सम्पन्न गराउँदै एनआरएनएले अगाडि बढाएको हाईड्रो कलेक्टिभ इनभेष्टमेन्ट अन्तर्गत २७ करोड रुपैयाँ अस्ट्रेलियाबाट संकलन गर्न पनि सफलता प्राप्त गरेको छु । यसमा मलाई गौरव छ । सो क्रममा एनआरएनएको भवन निर्माणको लागि आर्थिक संकलन अभियान अगाडि बढाउन मलाई आसिनिया क्षेत्रको संयोजकको जिम्मेवारी दिईएको थियो । एनआरएनएको केन्द्रीय भवन निर्माणको लागि ओसेनिया क्षेत्रको जिम्मेवारी आएसँगै म अहोरात्र खटिँदै भवन निर्माणमा २ करोड रुपैयाँ संकलन गर्न सफल भएँ । त्यसैगरी मलेसियामा सामाजिक कल्याणकारी कोष स्थापनाको लागि भएको आर्थिक सहयोग संकलन अभियानमा करिव १ करोड रुपैयाँ जम्मा गर्न पनि सफल भएँ । एनआरएनएको भवन निर्माण, नेपालमा भूकम्प, नाकाबन्दी र कोरोना महामारीमा मैले मातृभूमिमा सेवा गर्ने कार्य गरेको कुरा सबैलाई थाहा नै छ । कोरोना महामारीमा विभिन्न स्वास्थ्य सामग्री सहयोग र कोभिड कोषमा रकम जम्मा गर्नेजस्ता मानवीय कार्यमा म कहिले पनि पछि हटिन ।
विदेशमा विपतमा परेका नेपालीका लागि तपाईको कार्य योजना के कस्तो छ ?
विदेशमा विभिन्न कारणले विपतमा परेका नेपालीहरुलाई सक्दो सहयोग गर्ने र गराउने तथा उनीहरुको लागि उचित व्यवस्था गर्न र गराउने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छु । रोजगारीको सिलसिलामा कहीँकतै कुनै मुलुकमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गरेर नेपालसम्म लाने व्यवस्था गर्दै आएको छु । त्यस्तै विदेशमा बेपत्ता भएका नेपालीहरुको खोजी गरेर उनीहरुको उद्धार गर्ने कार्यलाई पनि निरन्तरता दिँदै आएको छु । देशको इज्जत एबं गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने, नेपालको सामाजिक, आर्थिक रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउनेलगायतका धेरै कार्य योजनाहरु मैले अघि सारेको छु ।
अन्त्यमा के भन्नुहुन्छ ?
लामो समयदेखि गैर आवासीय नेपालीका हकहित र अधिकारका लागि विभिन्न संगठन तथा मञ्चमार्फत सक्रिय संघको वर्तमान उप– महासचिवको हैसियतले अष्ट्रेलियामा रहेर आफूले सिकेको ज्ञान, सीप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा आर्थिक समृद्धि लागि प्रयोग गर्दै आएको छु । मैले बटुलेको अनुभव र अग्रजको संयोजनका आधारमा केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएर जितेपछि संघलाई अर्को उचाइमा पु¥याउने मेरो प्रमुख उद्देश्य हो ।
![](https://aalochanadainik.com/wp-content/uploads/2023/07/1230x100.gif)