काठमाडौं, असोज २४ । नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन आजदेखि जनकपुरधाममा सुरु हुँदैछ ।
जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा हुने अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनबाट दुई सय ३५ सदस्य प्रदेश कमिटी चयन हुने एमालेले जनाएको छ । मतदानको लागि मधेश प्रदेशको आठवटै जिल्लाबाट खुल्ला तथा विभिन्न क्लस्टरबाट एक हजार २७ प्रतिनिधि छनोट गरिएको छ । सकेसम्म सहमति प्रक्रियाबाटै समिति चयन गर्ने प्रयासमा रहेको मधेश प्रदेश इन्चार्जसमेत रहेका एमालेका सचिव योगेश भट्टराईले बताए ।
अधिवेशन सम्पन्न गराउन एक सय ५ जना स्वयंसेवक परिचालन गरिएको छ । नेता कार्यकर्ता व्यवस्थापनका लागि प्रतिनिधि तथा नेताहरू बस्न २२ वटा होटल भाडामा लिइएको छ । एमालेको सुदूरपश्चिम प्रदेशमा पनि अधिवेशन भइरहेको छ । मतदान हिजै हुने भनिए पनि प्रक्रिया लम्बिएको छ । एमालेले लुम्बिनी प्रदेशबाट अधिवेशन सुरु गरेको थियो । मधेश प्रदेशको आजबाट सुरु भएको अधिवेशन प्रदेशको अन्तिम अधिवेशन हो ।
लुम्बिनीमा राधाकृष्ण कडेल, वागमतीमा कैलाशप्रसाद ढुंगेल, कोशीमा घनश्याम खतिवडा, गण्डकीमा नवराज शर्मा, कर्णालीमा गुलाबजंग शाहको नेतृत्वमा प्रदेश कमिटी गठन भएको छ । एमालेले चैत्र अन्तिमसम्म वडा तहको पनि अधिवेशन गर्ने जनाएको छ ।