काठमाडौं, असोज २४ । इजरायलमा भएको आक्रमणमा मृत्यु भएका मधेश प्रदेशका आनन्द साहको परिवारलाई मधेश सरकारले ५ लाख रुपैंयाँ दिने भएको छ ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको इजरायलमा भएको प्यालेस्टाइनी समूह हमासको आक्रमणमा परी मृत्यु भएको हो । मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार साँझ एक शोक वक्तव्यमार्फत मृतकको परिवारमा समवेदना व्यक्त गर्दै पीडित साह परिवारलाई प्रदेश सरकारको तर्फबाट ५ लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिए ।

मुख्यमन्त्री यादवले आक्रमणमा परी मृत्यु भएका १० नेपाली युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै युद्धमा सामेल नभएका निहत्था र निर्दोष व्यक्तिमाथि आक्रमण हुनु हमासको संवेदनहीन र अमानवीय कृत्य भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘त्यस आक्रमणले १० परिवारको सपना भताभुङ्ग भएको छ । त्यो घटनाले हामी नेपाली शोकमग्न छौँ । असमयमा अनाहक ज्यान गुमाउने युवाहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई यो महाविपत्तिको असह्य पीडा र वेदना सहन गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछु ।’