काठमाडौं, असोज २५ । जिल्ला अस्पताल संखुवासभामा ड्युटीमा रहेका डाक्टर र स्वास्थ्यकर्मीलाई गालीगलौज र हातपातको प्रयास गर्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको खाँदबारी नगरपालिका–१ का २८ वर्षीय विक्रम विश्वकर्मा, २८ वर्षीय आशिष विश्वकर्मा र वडा नम्बर ९ का अनिल विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामकुमार लामिछानेले जानकारी दिए । इन्सपेक्टर लामिछानेका अनुसार उनीहरूले मदिरा सेवन गरी हिजो बिहान १ बजे खाँदबारीस्थित जिल्ला अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई गालीगलौज गरी हातपातको प्रयास गरेका थिए । जिल्ला अस्पताल खाँदबारीमा समन्वय अधिकृतको रूपमा खटिएको प्रहरी कर्मचारीले सम्झाइबुझाई गर्दा प्रहरीमाथि नै हातपातको प्रयास गरेपछि जिल्ला प्रहरी कार्यालयको टोली त्यहाँ पुगेको थियो ।
जिल्ला प्रहरीको टोली पुगेर विक्रम र अनिललाई अस्पतालबाटै नियन्त्रणमा लिइएको इन्स्पेक्टर लामिछानेले बताए । प्रहरी पुगेपछि फरार रहेका आशिषलाई हिजो बेलुका पौने ८ बजे प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका तीनैजनाविरूद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम थप अनुसन्धान भईरहेको इन्सपेक्टर लामिछानेले जानकारी दिए ।