काठमाडौं, असोज २६ असोज । सरकारले संघीय संसद्को बर्खे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।

आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने तयारी रहेको जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए । अधिवेशन अन्त्य गर्ने निर्णय गर्नका लागि आज मन्त्रिपरिषद बैठक बस्ने तयारी छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस नेपाल आउने भएकाले सोही भ्रमणलाई मध्यनजर गर्दै कात्तिक १२ गते हिउँदे अधिवेशन बोलाउने तयारी रहेको जनाइएको छ । गुटेरसले भोलि संसदलाई सम्बोधन गर्ने कार्यक्रम थियो । उनले आफू अहिले नआउने जानकारी यसअघि नै गराइसकेका छन् ।