काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ८ को इकाई कमिटी पुनर्गठन भएको छ ।

आज आयोजित शुभकामना आदानप्रदानसँगै वडा कमिटी गठन गरिएको पार्टीका कन्द्रीय सदस्य कृष्णबहादुर राउतले जनाए । उनका अनुसार बिनोद नेपालीको अध्यक्षतामा इकाई कमिटी गठन भएको छ । राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गुरुङसहितका अतिथिले नवगठित कमिटीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । प्रमुख अतिथि गुरुङले राप्रपा नयाँ विचारका साथ अघि बढेकाले पार्टीप्रति आकर्षण बढिरेहको बताए । उनले राप्रपाले लिएको सिद्धान्त र विचार उत्कृष्ट भएकाले पनि राप्रपाप्रति मानिसहरु सकारात्मक भएको दाबी गरे । उनले गणतन्त्रवादी र संघीयताबादीसँग लड्नुपर्ने आफूहरुलाई चुनौती भए पनि त्यसको सामना गरेर अघि बढ्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा पार्टीका स्थानीय नेता ९१ वर्षीय मुकुन्द गौतमलाई उपाध्यक्ष गुरुङले सम्मान गरेका थिए । केन्द्रीय सदस्य राउतले पछिल्लो समयमा टोखामा राप्रपाको राम्रो सम्भावना भएको बताए । उनले नयाँ विचार लिएर हिँड्न गाह्रो भएको भए पनि आफूहरु लागिरहेको जनाए । उनले अहिले अरु दलका गतिविधिले जनतामा निराशा छाएको समेत बताए । कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक भूपू संनिक संगठनका अध्यक्ष तथा अवकाशप्राप्त महासेनानी प्रकाशजंग कार्कीसहित पार्टीको विभिन्न जिम्मेवारीमा रहेका नेताहरुको उपस्थिति रहेको थियो ।