
काठमाडौं, १० कात्तिक । ढोग्न नमानेको भन्दै कुटपिट गर्ने दुई जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सल्यान बागचौर नगरपालिका– ७ स्यालागाउँका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओली रहेका छन् । उनीहरूले कात्तिक ४ गते गाउँको उपकार आधारभूत विद्यालयको खेल मैदानमा गाउँकै २० वर्षीय घनश्याम ओलीलाई आफूहरुलाई ढोग्न नमानेको भन्दै कुटपिट गरेका थिए । सल्यानका प्रहरी प्रमुख नवीन कार्कीका अनुसार घटनामा संलग्न दुबैजना पक्राउ परेका छन् । केहीअघि सन्तोषमात्र पक्राउ परेका थिए । उपचारका क्रममा घनश्यामको बुधबार भारतमा दुखद् निधन भएको छ । कुटपीटबाट घनश्यामको शरीरमा रगत जमेको बताइएको थियो ।
