काठमाडौं, १० कात्तिक । आश्विन शुक्ल पूर्णिमाका दिन भोलि (शनिबार) खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ बजेर १९ मिनेटदेखि सुरू हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए । राति २ बजेर ३८ मिनेटमा ग्रहणको मोक्ष अर्थात् समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) मा उल्लेख छ । यो चन्द्रग्रहण २०८० सालमा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ । चन्द्रग्रहणको नौ घन्टा अघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताए । दिउँसो ४ बजेर १९ मिनेटदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ ।

ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय मान्यता रहेको छ । गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चन्द्रमास अनुसार कात्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कात्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।