काठमाडौं, कात्तिक १० । मुगुको छायाँनाथ रारा नगरपालिका–६ मा एकै परिवारका ४ जनाको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार, स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । घटना कम्तीमा दुई दिनअघिको हुनसक्ने प्रहरीको अनुमान छ । ‘परिवारका सदस्यले श्रीदेवीलाई नभेटेपछि खोज्दै आएका रहेछन्, त्यसक्रममा घरमा आउँदा रगत देखेपछि प्रहरीलाई खबर गरेका हुन्’ थापाले भने, ‘शुक्रबार बिहान पौने १० बजेतिर खबर आएपछि घटनास्थलमा पुगेर अनुसन्धान थालेका छौं ।’
धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृत्यु हुनेमा श्रीदेवीकी ११ वर्षीया छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहर रहेका छन् । श्रीदेवीका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाहिर रहेको प्रहरीले जनाएको छ ।