काठमाडौं, कात्तिक १० । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका नेतासँग भेटवार्ता गर्ने छन् । उनले १४ गते संघीय संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि उनले १२ गते नै संसदलाई सम्बोधन गर्ने भनिएको थियो । त्योभन्दा अघि असोज २७ गते नै गुटेरेसले संसदलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो तर इजरायलमा देखिएको समस्याका कारण उनको भ्रमण स्थगित भएको जनाइएको थियो ।