
कार्तिक १०, काठमाडौं । चाडबाडको शुभकामना आदानप्रदानसँगै नेशनल वित्तीय लघुबित्त संस्था लिमिटेडले सर्वसाधारणका लागि निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
लघुबित्तले सिराहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ५ कदमाहा गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । संस्थाका प्रमुख कार्यकारी निर्देशक (सिईओ) रामबहादुर यादवले ग्रामीण क्षेत्रमा स्वास्थ सेवाको पहुँचबाट बन्चित रहेका आम जनसमुदायलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरिएको बताए । यादवका अनुसार स्वास्थ शिविरबाट ४ सयभन्दा बढीले लाभ लिएका छन् । स्वास्थ्य शिविरमा सतिस कुमार यादव, प्रविन कुमार यादव, राकेश कुमार यादव, लक्ष्मी यादव, मनोज अधिकारीलगायत दर्जनभन्दा बढी विशेषज्ञले सेवा प्रदान गरेको जनाइएको छ ।
शिविरमा स्त्री तथा प्रसुती रोग, बालरोग, जेनरल फिजिसियन, आँखासम्बन्धी रोगलगायतका अन्य रोग लागेका ४ सयभन्दा बढी बिरामीहरुको चेकजाँच गरी निःशुल्क औषधि दिइएको लघुवित्तका प्रमुख कार्यकारी निर्देशक (सिइओ) यादबले जानकारी दिएका छन् । दशै, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानसँगै सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य उपचार प्रदान गर्न पाउँदा आफूहरु खुशी भएको लघुवित्तका कार्यकारी निर्देशक यादवको भनाई छ ।
