
काठमाडौं, कात्तिक १२ । मुगुको छाँयानाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा भएको सामूहिक हत्याकाण्डको विषयमा छानबिन नभएसम्म शव नउठाउने बोहोरा परिवारले अडान लिएको छ ।
मुगु प्रहरीका अनुसार केही व्यक्तिलाई आशंका गरिए पनि नियन्त्रणमा लिइहाल्नका लागि अझै बलियो प्रमाण पाउन सकिएको छैन । घटना केही दिनअघि नै भए पनि प्रहरीले शुक्रबार घटना भएको थाहा पाएको थियो । शुक्रबार घरभित्र २८ वर्षीय श्रीदेवी बोहरा र उहाँका ११ वर्षीय छोरा मनोज, ८ वर्षीय छोरी अप्सरा बोहरा र ८ महिनाका छोरा रहरको शव फेला परेको थियो । कतारमा रहेका श्रीमान दीपक बोहोरा स्वदेश फर्किएका छन् । दिपकले दोषीलाई पक्राउ नगरी शव नबुझ्ने अडान लिएका छन् ।
धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीले दाबी गरे पनि अहिलेसम्म घटनामा संलग्नताका प्रमाणहरू भने अझै पत्ता लगाउन सकिरहेको छैन । कतारमा रहेका दीपक शनिवार बिहान ११ बजे घरमा आइपुगेका हुन् । दिपक आएपछि शवहरू पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको हो । अहिलेसम्म पोस्टमार्टम हुन सकिरहेको छैन । अनुसन्धानमा सघाउनका लागि प्रदेश प्रहरी कार्यालयका डिआइजी भिमप्रसाद ढकाल पनि आइतबार मुगु पुगेका छन् । शुक्रवार नै बाँकेको कोहलपुरबाट तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली, प्रदेश प्रहरी कार्यालयका वरिष्ठ सई नारायण शर्माको नेतृत्वमा पाँच जनाको अनुसन्धान विशेष टोली मुगु पुगेको थियो ।
तालिमप्राप्त कुकुरले पनि कुनै संकेत गर्न नसकेको अनुसन्धानमा सक्रिय प्रहरी अधिकृतहरू बताउँछन् । पोस्टमार्टमपछि थप केही विवरणहरू पत्ता लाग्ने आशा प्रहरीले गरेको छ ।
