
काठमाडौं, कात्तिक १३ । पूर्व राज्यमन्त्री अमर सिंह पुनले राज्यमन्त्री राख्नुपर्ने आवश्यकता नभएको बताएका छन् ।
पूर्व सिंचाई राज्यमन्त्री पुनले राज्यमन्त्रीको काम नभएकाले राज्यमन्त्री राखेर देशलाई अनावश्यक भार नथप्न आग्रह गरेका छन् । ‘न त मन्त्रीले अधिकार नै दिन्छन्, न त राज्यमन्त्री र सहायकमन्त्रीले केही गर्न नै पाउँछन् त्यसैले नामको लागिमात्र मन्त्री बनाउने काम गलत हो’ पुनले भने ‘राज्यमन्त्री, सहायकमन्त्री राख्ने सिस्टम नै हटाउनुपर्छ, एउटा मन्त्री थपिँदा राज्यलाई कति भार पर्छ भन्ने त्यसको हिसाबकिताब हुनुपर्छ ।’ संविधानसभाका सभासद्समेत रहेका लुम्बिनी प्रदेशका नेपाली कांग्रेसका सभापति पुनले धेरै मन्त्री बनाउने काम गलत भएको टिप्पणी गरेका छन् ।
उनले कुनै मन्त्रालयमा मन्त्रीले राज्यमन्त्रीलाई केही जिम्मेवारी दिने गरेको भए पनि धेरैजसो राज्यमन्त्री र सहायकमन्त्री भूमिकाविहीन हुने गरेको बताए । उनले प्रदेशमा पनि भागबण्डा पुर्याउनका लागि मन्त्रीमण्डल ठूलो बनाउने सिस्टम गलत भएको बताए । प्रदेशमा र केन्द्रमा पनि मन्त्रीमात्र राख्नुपर्ने भन्दै आएका उनले लुम्बिनी प्रदेशमा सबै दललाई भागबण्डा पुर्याउनका लागि मन्त्रालय फुटाउने सोच राम्रो नभएको बताए ।
‘सानो आकारको काम गर्नसक्ने खालको मन्त्रिमण्डल बनाउनुपर्छ’ उनले भने ‘हाम्रो प्रदेशमा ठूलो आकारको मन्त्रिमण्डल बनाउने र सबैलाई चित्त बुझाउने कुरा भइरहेको छ, यसमा मेरो सहमति छैन ।’ उनले आवश्यक परे यसविरुद्ध आफूले संघर्ष थाल्ने पनि बताए ।
