काठमाडौं, कात्तिक १५ । सरकारले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

नेपाल आयल निगमले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै डिजेल र मट्टीतेल लिटरमा चार रूपैयाँ घटाएको जानकारी दिएको हो । बुधबार बिहानदेखि पहिलो वर्गमा पर्ने क्षेत्रमा डिजेल र मट्टीतेलको मूल्य १६१, दोस्रो वर्गमा १६३ र तेस्रो वर्गमा १६४ रूपैयाँ कायम गरिएको छ । पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज पर्छन् । दोस्रो वर्गमा सुर्खेत र दाङ पर्छन् भने काठमाडौं पोखरा र दिपायल तेस्रो वर्गका क्षेत्र अन्तर्गत पर्छन् ।

मंगलबार भारतीय आयल कर्पोरेसन (आइओसी) बाट आएको नयाँ मूल्यसूचीअनुसार डिजेल लिटरमा ३ रूपैयाँ ६३ पैसा घटेर आएको निगमले जनाएको छ । त्यस्तै पेट्रोल लिटरमा एक रूपैयाँ ५१ पैसा र एलपी ग्यास सिलिन्डरमा ९३ रूपैयाँ ६० पैसाले वृद्धि भएर आएको छ । तर उताबाट मूल्य बढेर आए पनि नेपाल आयल निगमले भनें यहाँ मूल्य नबढाएको जनाएको छ । मूल्य वृद्धि भएर आए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन बमोजिम पेट्रोल र ग्यासको भाउ नबढाइएको निगमको भनाई छ ।