
काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित घाइतेहरूलाई कांग्रेस सांसद डा.सुनिल शर्माले काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गरिदिएका छन् ।
सांसद शर्मा सल्लाहकार रहेको सो मेडिकल कलेजले हिजो प्रेस विज्ञप्ति जारी गरेर भूकम्पका घाइतेहरूलाई निःशुल्क उपचार गरिने जनाएको हो । सांसद शर्माकी छोरी सोइना काठमाडौं मेडिकल कलेज (केएम्सी) की कार्यकारी अध्यक्ष रहेकी छिन् । कार्यकारी अध्यक्ष र सल्लाहकार शर्माद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य उपचार सामग्रीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउन पनि तयार रहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार सामग्रीसहित स्वास्थ्य टोली पठाउनसमेत तयार रहेको जानकारी गराउँछौं ।’
घाइतेहरूको उपचारमा सहयोग गर्ने उद्येश्यले केएमसीमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको सांसद शर्माले जानकारी दिए । ‘आपतविपतका बेला सबैले सकेको सहयोग गर्नुपर्छ,’ केएमसीका सल्लाहकार समेत रहेका सांसद शर्माले भने, ‘हाम्रो तर्फबाट पनि सकेको सहयोग गरौं भनेर घाइतेहरूलाई निःशुल्क उपचारका लागि व्यवस्था मिलाइदिएका छौं ।’ जाजरकोटको रामेडाँडा केन्द्रविन्दू बनाएर शुक्रबार राती ११ बजेर ४७ मिनेटमा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
