काठमाडौं, कात्तिक १९ । कोशी प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत र पुनस्र्थापनाका लागि एक करोड रूपैयाँ पठाउने निर्णय गरेको छ ।

शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पीडितको राहत, उद्धार र पुनस्र्थापनाका लागि सम्बन्धित प्रदेशलाई एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले नगदसँगै एक ट्रक राहत सामग्री पनि पठाउने निर्णय गरेको मन्त्री गणेश उप्रेतीले जानकारी दिए । उनका अनुसार ब्लाङ्केट, त्रिपाल र म्याट्रेस एक ट्रक पठाइने छ । बागमती प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट घाइते भएकाको उद्धार, राहत र पुनस्र्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।

त्यस्तै वागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्पबाट प्रभावितको उद्धार, उपचार, राहत र पुनस्र्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने जनाएको हो ।यस विपद् घडीमा बागमती प्रदेश सरकार कर्णाली प्रदेश सरकार सँगसँगै रहने भन्दै भूकम्पबाट ज्यान गुमाएका व्यक्तिहरुप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोकाकुल परिवार र आफन्तजनहरुमा गहिरो समवेदन प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत विज्ञप्तिमार्फत गरेको छ ।

वागमति सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जारी गरेको विज्ञप्तीमा यो असहज परिस्थितिमा सबैले हातेमालो गर्नुपर्ने जनाइएको छ । नेपाली कांग्रेसले पनि भूकम्पपीडितका लागि ५० लाख रुपैंया दिने निर्णय गरेको छ । कांग्रेसले शनिबार जारी गरेको विज्ञप्तीमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै घाइतेको शिघ्र स्वास्थ्यलाभको पनि कामना गरिएको छ ।