बुटवल, २० कात्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि आफूले पाउने ६ महिनाको सुविधा बराबरको २ लाख ३४ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

भूकम्पले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै मेयर खाँले भूकम्पपीडितहरुको पुनर्स्थापना, गाँस, बास र आवासलगायतका व्यवस्थापनका लागि सहयोग होस् भनेर ६ महिनाको सुविधा बराबरको रकम दुवै जिल्लाका पीडितहरुलाई समान रुपमा प्रदान गर्ने जनाएका हुन् । मेयर खाँले मासिक ३९ हजार रुपैयाँ सुविधा पाउने गरेका छन् । ‘भूकम्पले मानवीय र भौतिक रुपमा धेरै क्षति पुर्याएको छ, मानवीयताले पनि हामी सबै नेपालीले दुःखमा परेका नेपालीलाई सहयोग गर्ने भावना हुनुपर्छ,’ उनले भने, ‘सोही भावना अनुसार थोरै सहयोगले भए पनि पीडितहरुलाई सहयोग होस् भनेर मेरो ६ महिनाको सुविधा बराबरको २ लाख ३४ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हुँ ।’

मेयर खाँले घोषणा गरेको सहयोग रकम दुवै जिल्लाको विपद् व्यवस्थापन कोष वा नेपाल सरकारले तोकेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिने सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ । कांग्रेसबाट निर्वाचित मेयर खाँ राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय छन् ।