काठमाडौं, कात्तिक २० । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी मंसिर ३ गते रुकुम पूर्व जाने भएका छन् ।
पूर्वमन्त्री, निवर्तमान प्रतिनिधिसभा सांसद तथा पार्टीकी स्थायी समिति सदस्य कमला रोकाका अनुसार प्रचण्डले पृथा उत्तरगंगा गाउँपालिकाको मैकोटमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ‘पार्टीको कार्यक्रम अन्तर्गत उहाँ यहाँ आउने कार्यक्रम छ’ रुकुम पूर्वमा नै रहेकी रोकाले भनिन् ‘उहाँको आगमन ऐतिहासिक नै हुने छ ।’ रोकाले कार्यक्रमका लागि आवश्यक तयारी हुँदै गरेको बताइन् । पार्टीले भदौ १६ गतेदेखि तीन महिने जागरण अभियान सञ्चालन गरिरहेको छ । अभियान मंसिर १५ गते सकिँदैछ ।