काठमाडौं । सफल युवा व्यवसायी एवम् एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष तथा प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीका अन्तराष्ट्रिय डाईरेक्टर सामाजिक व्यक्तित्व गणेश केसी ‘राष्ट्रिय सेवा सम्मान २०८०’ बाट सम्मान गरिएको छ ।

शुक्रबार फोकस नेपालले काठमाडौंको राष्ट्रिय नाचघरमा शुभ दिपावलीको अवसरमा आयोजना गरेको शुभकामना तथा विशेष सांस्कृतिक समारोहमा कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल र नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसद तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले गणेश केसीलाई सम्मान गरेका हुन् । चितवनमा जन्मिएर अस्ट्रेलियालाई आफ्नो कर्मभूमि बनाएका केसी विगत २ दशकभन्दा बढी समयदेखि विदेशमा रहेर पनि नेपाल निर्माणको लागि विभिन्न क्षेत्रमा सक्रिय रहेका छन् ।

नेपालीहरुलाई समस्या पर्दा जुनसुकै प्रकारको सहयोग गर्ने उनी समाजसेवीको रुपमा चिनिएका छन् । सन् १९९५ देखि अस्ट्रेलियालाई कर्मभूमि बनाउँदै विदेशमा बेपत्ता भएका नेपालीहरुको खोजी गरेर उनीहरुको उद्वार गर्ने काममा पनि उनी सक्रिय छन् । नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने, नेपालको सामाजिक, आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउनेलगायत एनआरएनएको भवन निर्माण, नेपालमा भूकम्प, नाकाबन्दी, कोरोना महामारीमा विभिन्न स्वास्थ्य सामग्री सहयोग र कोभिड कोषमा रकम जम्मा गर्नेजस्ता मानवीय कार्यमा केसी सक्रिय रहँदै आएका छन् ।
अदक्ष नेपालीलाई व्यवसायिक सीप तालिम दिएर दक्ष बनाएर विदेशमा नेपालको शान बढाउने अभियानको साथै हस्पिटालिटी क्षेत्रमा केसीको उच्च योगदानको रहेको जनाइएको छ ।

सम्मान पाएपछि केसीले यो सम्मानले आफूलाई देश र जनताको सेवामा लाग्न थप प्रेरणा जागेको बताएका छन् ।