विराटनगर, कात्तिक २५ । कोशी प्रदेशमा सत्तारुढ गठबन्धनले मन्त्रिपरिषदमा भागवण्डा मिलाएका छन् ।
सत्तारुढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले भागवण्डा टुंगो लगाए पनि मन्त्रिपरिषद विस्तार भने तिहारपछि मात्रै गर्ने सहमति भएको छ । प्रदेशका ९ मन्त्रालयमध्ये नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार वटा राख्ने सहमति छ । नेकपा (माओवादी केन्द्र) ले ३ र नेकपा (एकीकृत समाजवादी) ले एउटा मन्त्रालय लिने जनाइएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले पनि सरकारलाई समर्थन गरेको छ । यो पार्टीबाट एकजना सांसद रहेका छन् । असोज २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीको मन्त्रिपरिषदमा अहिले कांग्रेसबाट शमशेर राई, नेकपा (माओवादी केन्द्र) बाट गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जवेगु बिनाविभागीय मन्त्री छन् ।
नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले तिहार र छठपछि सरकार विस्तार गर्ने सहमति भएको बताए । गठबन्धनका दलले विभिन्न निकायमा पनि भागबण्डा मिलाएको जनाइएको छ ।