काठमाडौं, ३ मंसिर । काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै पक्राउ परेका सबै रिहा भएका छन् ।
शुक्रबार ४ जना र शनिबार १० जना गरी १४ जना पक्राउ परेका थिए । बौद्ध प्रहरीका डिएसपी राजु पाण्डेले सबैलाई शनिबार राति छाडिएको जानकारी दिए । शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले पनि पक्राउ परेकाहरु सबैलाई प्रहरीले छोडेको बताए । मेयर नापितका अनुसार स्थानीयले प्रहरीसँग आफूहरुको कुनै सरोकार नभएको तर माग सम्बोधनका लागि सरकारलाई दबाब दिन शान्तिपूर्ण प्रदर्शन जारी राख्ने बताएका छन् ।
शंखरापुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सूर्यबहादुर तामाङले बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग रहेको बताए । नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा विवाद हुँदा शुक्रबार सुरक्षाकर्मी र स्थानीयबीच झडप भएको थियो । स्थानीयको आक्रमणबाट डिएसपी देवराज राईसहित तीनजना सुरक्षाकर्मी घाइते भएका थिए भने प्रहरीले तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रणजित तामाङसहित १४ जनालाई पक्राउ गरेको थियो ।