काठमाडौं, मंसिर ११ । सामनुपातिक सांसद बन्ने क्रम सजिलो बन्दै गएको छ । पार्टीमा कुनै योगदान नभए पनि सांसद बन्न पाइने भएपछि मानिसले राजनीतिमा लागेर दुःख गर्न छोडेका छन् । पार्टीका प्रमुख नेतासँग राम्रो सम्बन्ध भएपछि समानुपातिकमा १ नम्बरमै पर्ने र सांसद बन्ने निश्चित हुँदा पार्टीमा योगदान गरेको, त्याग र तपस्या गरेको भन्ने नारा पुरानो हुँदै गएको छ ।

पार्टीमा भर्खरै प्रवेश गरेकालाई पनि नेताले पैसाको बिटो बुझेपछि सांसद बन्ने ग्यारेण्टी गरिदिने गरेका छन् । पार्टीका मुख्य नेतासँग राम्रो सम्बन्ध भएपछि अरु केही गर्नु नपर्ने भएकाले दोस्रो तहका नेताहरु भनें ओझेलमा पर्दै गएका छन् । सांसद हुन खोज्नेले पनि धेरै व्यक्तिको चाकडी गर्नुभन्दा पनि जसलाई भेट्दा हुन्छ उसैलाई भेट्ने र दान दक्षिणा बुझाउने गरेका छन् । कोही व्यक्ति पटक पटक समानुपातिक सांसद् बन्ने र कोहीले एक पटक पनि अवसर नपाउने समस्या पुरानै हो । आफू भइरहेको पार्टीबाट अब केही पाउने सम्भावना नभएपछि अर्को पार्टीमा गएर भए पनि समानुपातिक हुने वा टिकट लिने प्रचलन पनि बढेको छ । समानुपातिकलाई व्यवस्थित गर्ने भनेर दलहरुले बाहिर नारा लगाए पनि उनीहरुको लागि यो प्रणाली आम्दानीको राम्रो स्रोत बनेको छ ।

समानुपातिक सांसद कसलाई र किन बनाइयो भन्ने जवाफ कतै दिनु नपरेपछि नेताहरुलाई सजिलो भएको छ । दोस्रो तहका भनिने नेताहरुले पनि यसबारे प्रश्न उठाएका छैनन् । केही बोलियो भनें भोलिको दिनमा नेतृत्व आफ्नो विरोधमा हुन्छ कि भन्ने डरले उनीहरु चुपचाप बसेका छन् । यसअघि एमालेबाट समानुपातिक सांसद बनेकी राज्यलक्ष्मी गोल्छाले यति रकम यी–यी व्यक्तिलाई बुझाएर समानुपातिक सांसद भएकी हुँ भनेर खुलमखुला भन्दा पनि एमालेले यसबारे चुँइक्कसमेत बोलेन त्यसैले पनि समानुपातिकमा कस्तो विकृति रहेछ भन्ने सजिलै बुझ्न सकिन्छ । केन्द्रका नेतासँग सबैको पहुँच नहुने भएकाले तल्लो तहबाट आउँदा समानुपातिक सबैका लागि राम्रो र भरपर्दो आम्दानीको माध्यम बनेको छ ।