काठमाडौं, मंसिर ११ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) भूपेन्द्र बुढाथोकीले उत्कृष्ट गीतकारको रुपमा २ वटा अवार्ड प्राप्त गरेका छन् ।

उनले असोज २५ गते सम्पन्न भएको ‘चौथो ओएस नेपाल म्युजिक अवार्ड २०८०’ र असोज २६ गते ‘पाँचौं सगरमाथा म्युजिक अवार्ड २०८०’ बाट अवार्ड प्राप्त गरेका हुन् । २५ गते काठमाडौंको राष्ट्रिय नाचघर जमलमा आयोजना भएको कार्यक्रममा उनले ‘धोकामाथि धोका’ बोलको गीतबाट सर्वोत्कृष्ट आधुनिक गीतकार अवार्ड प्राप्त गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि रहेका पूर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले बुढाथोकीलाई सम्मान गरे तर उक्त अवार्ड लिन बुढाथोकी उपस्थिति हुन भने पाएनन् । उनी त्यतिबेला विशेष कारणले नेपालबाहिर रहेका थिए । बुढाथोकीले यसअघि २०७५ र २०७८ सालमा पनि उत्कृष्ट गीतकारको अवार्ड जितेका थिए । त्यसैगरी ‘सगरमाथा म्युजिक अवार्ड २०८०’ मा बुढाथोकीले ‘मुटु टुट्दा’ बाट सर्वोत्कृष्ट पप–आधुनिक गीतकारको जुरी अवार्ड प्राप्त गरेका हुन् । गायक प्रमोद खरेलको स्वरमा रहेका गीतबाट नै उनले २ वटा अवार्ड हात पारेका हुन् । अहिले उनी प्रहरी निरीक्षकको रुपमा मुगुमा कार्यरत छन् ।

२०७३ सालमा सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका बुढाथोकीको गीत– संगीत क्षेत्रमा निकै झुकाव रहेको छ । नेपाल प्रहरीमा प्रवेश गरेपछि उनले आफ्नो जीवनको पहिलो गीतको रुपमा ‘हामी नेपाल प्रहरी’ बोलको गीत सार्वजनिक गरेका थिए । राजेश पायल राईकोे स्वरमा रहेको उक्त गीतको शब्द भनें बुढाथोकीले नै लेखेका थिए । त्यसमा त बुढाथोकीको अभिनय समेत देख्न पाइन्छ । उनको शब्दमा रहेका गीतहरु फुल भनौँ जिन्दगीलाई, डाँडापारि मेरो माया, परदेशीको दशैं तिहार, धोकामाथि धोका, मुटु टुट्दालगायतका गीतहरुले निकै चर्चा कमाएका छन् । बुढाथोकीले थुप्रै गितहरु लेखिसकेका छन् । उनी २०७७ सालमा सहायक निरीक्षकबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) मा नाम निकाल्न सफल भए । जनताको सेवामा कर्तव्यनिष्ठ भएर काम गर्ने उनी बचेको समयमा गीत–संगीतमा रमाउने गर्छन् । उनको जन्म सल्यानमा भएको हो ।

बुढाथोकी नेपालको पहिलो युट्युबको सिल्भर बटन पाउने प्रहरी निरीक्षक समेत हुन् । आफ्नै रचनाहरु युट्युबबाट सार्वजनिक गरेर नै उनी युट्युबको सिल्भर बटन पाउन सफल भएका थिए । उनी आफ्नो कर्तव्य निर्वाह गरेसँगै गीत–संगीतलाई निरन्तरता दिने बताउँछन् । उनले आफूले पाएको सम्मानले यो क्षेत्रमा थप केही गरौं भन्ने प्रेरणा जागेको बताएका छन् ।