काठमाडौं, १३ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक संस्थाहरूलाई २४ घन्टाको समय दिएर टिकटक बन्द भए– नभएकोबारे जानकारी दिन निर्देशन दिएको छ ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सरकारको निर्णयअनुसार टिकटक बन्द गरिएको र त्यसको कार्यान्वयनबारे जानकारी गराउन इन्टरनेट र मोबाइल सेवा प्रदायक संस्थाहरूलाई आग्रह गरिएकोमा त्यसबारे अहिलेसम्म जानकारी नआएको बताउँदै २४ घन्टाभित्र जानकारी दिन भनेको हो । २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भए÷नभएकाबारे जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमतिपत्र खारेजीलगायतको कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सद्भाव बिग्रिन थालेको भन्दै टिकटकको प्रयोगलाई बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलगत्तै प्राधिकरणले टिकटक बन्द गर्न सेवा प्रदायकलाई निर्देशन दिएको थियो ।