
काठमाडौं, १३ मंसिर । मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो । आगामी फागुन २० गते राष्ट्रियसभाका एक तिहाइ सदस्य (२० जना) को पदावधि सकिँदैछ । त्यसको ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ । राष्टियसभाको निर्वाचन हरेक दुई–दुई वर्षमा हुँदै आएको छ । २०७४ सालमा गठन भएको यो राष्ट्रियसभाका सदस्यको कार्यकाल २०७५ को असारमा गोलाप्रथाबाट चयन गरिएको थियो ।
राष्ट्रियसभामा रहेका ५९ जना सांसदले गोला तानेर आफ्नो कार्यकाल चयन तोकेका थिए । गोला तान्दा कसैको २, कसैको ४ र कसैको ६ वर्ष परेको थियो । गोला तान्दा २ वर्षमात्रै परेको सांसदको कार्यकाल २०७६ सालमा नै सकिएको थियो । यो समयमा सकिएर फेरि निर्वाचित भएर आएका सदस्यको कार्यकाल ६ वर्षको रहेको छ । उनीहरु अहिलेका सांसद जसरी नै २०८२ सालबाट बिदा हुने छन् ।
२०७८ मा निर्वाचित भएर आएका सांसदको कार्यकाल २०८४ सम्म रहने छ । अब निर्वाचित भएर आउनेको कार्यकाल २०८६ सालसम्म रहन्छ । जुन पद जसरी रिक्त भएको छ त्यो ठाउँमा त्यही प्रक्रियाअनुसार निर्वाचन हुने छ । २०७६ सालपछि निर्वाचित सबै सांसदको कार्यकाल ६ वर्षको रहने संवैधानिक व्यवस्था छ । यही संवैधानिक व्यवस्था रहुञ्जेल राष्ट्रियसभामा फेरि गोलाप्रथा हुँदैन ।
