काठमाडौं, मंसिर १६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका उपनेता बुद्धिमान तामाङले मेडिकल व्यावसायी दुर्गा प्रसाईंको आन्दोलनलाई पार्टीको नैतिक समर्थन रहेको बताएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका राप्रपाका उपाध्यक्ष तामाङले व्यवसायी प्रसाईंको आन्दोलनमा राप्रपाका ६५ प्रतिशत कार्यकर्ताहरू सहभागी भएको दाबीसमेत गरे । उनले आफ्नो पार्टीले कार्यकर्तालाई जानु पनि र नजानु पनि नभनेको पनि बताए । आज एक सञ्चारमाध्यमसँग कुरा गर्दै उनले पार्टीका प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही व्यवसायी प्रसाईंले गरेको कार्यक्रममा गई सम्बोधन गरेको पनि बताए ।

नेता तामाङले राप्रपाको एजेन्डा बोकेर आउने सबैलाई राप्रपाले समर्थन गर्ने बताए । उपनेता तामाङले राप्रपाले मंसिर २७ गते कैलाली, २८ गते महेन्द्रनगर र २९ गते जनकपुरमा आमसभा गर्न लागेको पनि जानकारी दिए । उनले पुस २७ गतेबाट राप्रपाले आफ्ना एजेन्डाअनुसारका विभिन्न कार्यक्रमहरू घोषणा गर्ने बताए ।