काठमाडौं, मंसिर १९ । नेकपा (एकीकृत समाजवादी) ले आगामी जेठमा मात्र महाधिवेशन गर्ने भएको छ ।

आज बसेको केन्द्रीय सचिवालयको बैठकले माघ १४–१८ का लागि तोकिएको महाधिवेशन जेठमा सार्ने निर्णय गरेको हो । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार महाधिवेशन २०८१ जेठ ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा हुने छ । महाधिवेशनमा पेश गर्ने दस्तावेजहरुको मस्यौदा गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २७ सदस्यीय समिति बनाइएको छ । माघमा भनें राष्ट्रिय सम्मेलन हुने भएको छ ।

राष्ट्रिय सम्मेलनभन्दा अगाडि मंसिर २८ र २९ गते सचिवालय, पुस ९ गते स्थायी कमिटी, पौष १० गते पोलिब्यूरो तथा ११ र १२ केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । प्रचार विभाग प्रमुख खतिवडाका अनुसार केन्द्रीय महाधिवेशनभन्दा अगाडि प्रदेश र जिल्ला अधिवेशन हुने छन् ।