
काठमाडौं, मंसिर १९ । चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ ।
हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिए पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । अन्दाजी चार वर्षको भाले बाघ बर्दिया पठाइएको हो । खैरहनी नगरपालिका– १२ को कुमरोज बस्तीमा मान्छे खाएपछि बाघलाई गत साउनमा नियन्त्रणमा लिइएको थियो । कसराको खोरमा चारवटा र सौराहामा दुईवटा हिंस्रक बाघ छन् । केही दिनअघि मकवानपुरको मनहरिमा मान्छेलाई आक्रमण गरेको अन्दाजी १० वर्षको पोथी बाघ सौराहामा राखिएको छ । यस्तै सौराहामै गतवर्ष मेघौलीमा मानिसलाई आक्रमण गरेको अन्दाजी १० वर्षको भाले बाघ पनि छ ।
तिवारीका अनुसार निकुञ्जको मुख्य कार्यालय कसरामा गत भदौमा अमलटारीबाट ल्याइएको अन्दाजी दुई वर्षको भाले बाघ छ । यसैगरी बाँकेबाट दुईवर्ष अघि ल्याइएको अन्दाजी नौ वर्षको भाले बाघ त्यही खोरमा राखिएको छ । निकुञ्जले चितवनको देवनगरमा वन्यजन्तु उद्धार केन्द्र बनाउँदै छ ।
