काठमाडौं । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘मिसन २०८४’ अभियान चलाएका छन् । उनीहरुले आगामी निर्वाचनका लागि केन्द्रित गर्ने भन्दै देशव्यापी अभियान सुरु गरेका छन् । उनीहरुले आगामी निर्वाचनबाट पार्टीलाई एक नम्बरको बनाउने प्रतिबद्धता जनाएका छन् ।

अघिल्लो मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा कमजोर उपस्थित जनाएको एमाले सत्ताबाट बाहिरिएपछि अभियानलाई सशक्त बनाउँदै आएको छ । अप्रत्याशित रुपले सत्ता छोड्नुपरेपछि अलमलिएको एमालेसँग जनताभन्दा पनि कार्यकर्तासँग सम्बन्धित अनेक अभियान सञ्चालनमा छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली अभियान उद्घाटन गर्न दौडिरहेका छन् । एमालेले अभियानका क्रममा सरकार भ्रष्ट भएको, जनताको पक्षमा काम गर्न नसकेको, सुशासन कायम गर्न नसकेको लगायतका आरोप लगाउँदै आएको छ । एमालेले हिजोका दिनमा पटकपटक सरकार सञ्चालन गर्दा के गरेको थियो भनेर स्पष्ट भन्न सकिरहेको छैन । एमालेले २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा लगाएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा पनि केबल नारामै सीमित भएको छ । तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टीबाट असहयोग भएकाले भनेजस्तो काम गर्न नसकेको बताउँदै आएका छन् । मानिसहरुले भनें झण्डै दुई तिहाई जनमत दिँदा पनि काम गर्न नसकेको एमालेलाई अब किन मतदान गर्ने भनेर प्रश्नसमेत गर्दै आएका छन् । ओलीले तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै कारण सरकारले गति लिन नसकेको त्यतिबेला नै बताएका थिए ।

उता रास्वपा पनि अघिल्लो मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनबाट उत्साहित भएको छ । छोटो समयमै पार्टीले सफलता पाएपछि हौसिएको रास्वापले आफूलाई भोलिका दिनमा कसरी अगाडि बढाउँछ भन्ने विषय प्रमुख प्रश्नका रुपमा देखापरेको छ । रास्वपाले प्रतिनिधिसभामा १५ सिट जितेको छ भनें समानुपातिकमा ७ सिट पाएको छ । गत वैशाख १० गते भएको तनहुँ–१ मा पनि प्रतिनिधिसभा जितेपछि यो पार्टीको प्रतिनिधिसभामा निर्वाचित संख्या १५ पुगेको हो । रास्वपाले आफ्ना एजेण्डा जनतामाझ राख्नुभन्दा पनि अरु पार्टीले केही गर्न नसकेकाले आफूहरु विकल्प भएको भन्दै आएको छ । अरु पार्टीसँग असन्तुष्टहरुले रास्वपालाई मतदान गरेका थिए भनें सँगसँगै अध्यक्ष रवि लामिछानेको कारण पनि यो पार्टीले धेरै मत ल्याएको थियो ।

अहिले जनताको पक्षमा काम गरेर आफूलाई स्थापित गराउनुको सट्टा उनीहरुले आगामी निर्वाचनलाई मात्र लक्षित गर्नु त्यति व्यावहारिक देखिँदैन । जनताको विश्वास जितेर मत पाउनुपर्ने भएकाले अबका दिनमा मानिसले पार्टीको काम हेर्ने भएकाले पनि सस्ता नारा बजारमा फिँजाउनुभन्दा पनि मन छुने काम गर्नु सबै पार्टीको लागि चुनौती बनेको छ ।